Monday, October 19, 2009

आएनन् दाइ फर्केर

दिनभरी चेली कुरेर बसिन
दाइ आउलान भनेर
मखमली माला उनेर राखिन
लाइदिउँला भनेर
परिकार धेरै सजाइकन
राखेकी किस्तिमा
सेलरोटी, मिठाई, फलफूल सारा
भरेर नाङ्लोमा
सप्तरंगी टिका थालीमा राखी
गलैचा बिछ्याई
पूजाका सामान फिजाइकन
दियोमा तेल राखी
एक घंटा बित्यो, दुई घंटा बित्यो………
परेछ साँझ पनि
आएनन् दाइ के पर्‍यो विपत
आँत्तियो मन पनि
चेलीको आँखा रसाउन थाल्यो
संझेर दाइलाई
आएनन् दाइ फर्केर फेरी
संझेर चेलीलाई।।।।।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Thursday, October 15, 2009

यी हरफ तिमीलाई

तिम्रो लामो आयुको कामना गर्दै
कहिल्यै नसुक्ने मखमलीको माला र
निधारमा सप्तरंगी टिकाले सजाएकी थिएँ
धेरै धेरै मंगलकामना गर्दै सगुन खुवाएकी थिएँ
तर लम्ब्याउन सकेन मखमली माला र सगुनले तिम्रो आयु
तिमी कहिल्यै नआउने गरी गयौ
मैले दैलोमा छेकेको तेलको धाराले
तिम्रो मृत्यु छेक्न सकेन
म भित्रको विश्वासलाई जीवित राखन सकेन
दाजु भाइ र दिदी बहिनीको पवित्र बन्धन
ताजा गराउन आउने यो चाड भाइटिकाले
सधै मेरो विगत कोट्याइदिन्छ
कता कता श्वास फुले जस्तो र
गला सुके जस्तो हुन्छ
त्यसै त्यसै आँखा रसाएर आउँछ
भित्री मन रोएर होला
यो तिहार नआए हुन्थ्यो जस्तो लाग्छ।

संघारमा फुटाएको ओखरले तिम्रो विपत्ती टार्न सकेन
न मैले फर्काउन सकें तिमीलाई यमराजको पंजाबाट
हरेक वर्षको भाइटिकाको आगमनले
तिम्रो सामिप्यताको स्मरण गराउँछ
अनि पीडाबोध हुन्छ तिमीसंगको विछोडले
तिमी कहाँ छौ थाहा छैन मलाई
तर पनि आँखा वरिपरी घुमिरहन्छौ
तिम्रो आवाज गुन्जिरहन्छ
कहिले निको नहुने यो पीडा
यसै गरी बेला बेलामा बल्झिरहन्छ
तिमीले छाडेर गएदेखि नै तिहार सून्य लाग्छ
भित्री मन रोएर होला
यो तिहार नआए हुन्थ्यो जस्तो लाग्छ।

हरेक बर्ष आउने तिहारमा
सयपत्री मखमली र गोदावरीका मालाहरू
किन्ने बेच्नेको होडमा मेरो कुनै सहभागिता हुदैन
टुलु टुलु हेरिरहन्छु म
आफुलाई अतितमा हराएर
एकोरिने गर्छु म त्यो बेला
तिम्रो वात्शल्य संझेर
त्यसै त्यसै पग्लिन्छु म
नियास्रो मेट्न तिम्रो सामिप्य खोजिरहेकी हुन्छु
थाहा छ तिमी आउँदैनौ भनेर
तर पनि किन किन मलाई
तिमी टुप्लुक्क आउँछौ जस्तो लाग्छ
तर्कना हो मनको संझेर चित्तलाई बुझाउँछु
भाइटिकामा बढी तिम्रो नियास्रो लाग्छ
भित्री मन रोएर होला
यो तिहार नआए हुन्थ्यो जस्तो लाग्छ।

तिमी श्रध्देय सधै मेरो मन भित्र सजाउँछु
यी हरफ तिमीलाई श्रध्दा सुमन चढाउँछु।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Friday, October 2, 2009

मन

कहिले यो मन पथ्थर जस्तो
कहिले शीशा जस्तो
कहिले हुन्छ फूल जस्तो
किन हुन्छ यस्तो?

घरी घरी रुन्छ यो मन
कहिले हाँसिरहन्छ
कहिलेकाहीं दुख्दा खेरी
छताछुल्ल हुन्छ।

गाह्रो हुन्छ पोखिएको मन बटुल्नलाई
छरिएर हराएको टुक्रा जोड्नलाई
भावनामा लहरिदै जतापनि पुग्छ
आफ्नै मन नि कुनैबेला भेट्न गाह्रो हुन्छ।

टुट्छ मन कहिलेकाहीं चित्त फाटेपछी
आफ्नै पनि पराई हुन्छ मन नमिलेपछी
मनै त हो सबैलाई आफ्नो बनाईदिने
मन नै छैन भने उसलाई किन आफ्नो भन्ने?

आफ्नो मान्छे जहाँ हुन्छन् त्यहीं निको मान्छ
खोजी खोजी आफन्तलाई संझनामा ल्याउँछ
राम्रा कुरा सुन्नासाथै फुरुफुरु हुन्छ
नराम्रो केही सुन्नै हुन्न धुरुधुरु रुन्छ।

हावा भन्दा छिटो हुन्छ नदी जस्तै बग्छ
रोकिदैन बेग उसको कोसौं कोसौं पुग्छ
एकैछिनमा फर्की आउंछ कति चंचल हुन्छ
दु:ख सुख जे भए नि सबैलाई बाँड्छ।

किन अडिदैन मन सधै डुलिरन्छ
भने जस्तो भएनकी ठुस्स परिहाल्छ
फकाउन सजिलो छ माया भए पुग्छ
जतन गरी राख्नु पर्छ संवेदनशील छ

जीवनलाई चलाउने साँचो हो कि मन
यस्तै लाग्छ मलाई, तिमी हो कि होइन भन
सधैभरी मन सही नहुन नि सक्छ
गल्ती लागे विवेकले सच्याउनु पर्छ।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Saturday, September 19, 2009

“शुभकामना”

“पूर्ण होस मनका चाहना
हरपल सुखदायी बनोस सबको जीवनमा
यही छ मेरो कामना
विजया दशमीको शुभकामना”

नेपाली मात्रको महान पर्व विजया दशमीको
शुभ उपलक्षमा सबैलाई
हार्दिक मंगलमय शुभकामना

नेपाल र नेपालीको माया गर्ने सबैलाई
सुख दु:खमा साथ दिने मित्रहरुलाई
नेपालको भलो चिताउने शुभचिन्तकहरुलाई
मुरी मुरी शुभकामना
विजया दशमीको मंगलमय शुभकामना।

विदेशमा बसेपनि मन नेपालमै छाड्नेहरुलाई
स्वदेशमै बसेर नेपाली माटोमा रमाउनेहरुलाई
स्वदेशकै माटोमा सुन फलाउनेहरुलाई
सृजनामा नेपाल चिनाउनेहरुलाई
मुरी मुरी शुभकामना
विजया दशमीको मंगलमय शुभकामना।

शक्ति प्रदान गरुन् महाकालीले
धन धान्य भरुन् लक्ष्मीले
शान्ति छाओस यो धर्तीमा
रक्षा गरुन् नव दुर्गाले
यही छ मेरो कामना
मुरी मुरी शुभकामना
विजया दशमीको मंगलमय शुभकामना।।।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Tuesday, September 1, 2009

मिली बस्नु पर्छ

पूर्व मेची महाकाली सबै हाम्रै त हो
मिलीजुली बसेदेखि सबै आफ्नै त हो
दिल ठूलो पार्नु पर्छ आफ्नो हुनलाई
भेदभाव गर्नुहुन्न मिली बस्नलाई।

आज तिमी मेरो भन्छौ भोली कस्को हुन्छ
थाहा छैन हिजो कस्को आज अर्कै हुन्छ
मेरो मेरो भन्दा भन्दै आँखिरमा जान्छ
रित्तै आउनु रित्तै जानु साथमा के पो लान्छ।

यो देश सबको साझा संझे झगडा नै हुन्न
किन छुट्टै राज्य चाहियो एउटै भए हुन्न?
सबै मिली गरौं काम देशको भलो हुने
राखौं सबले एउटै लक्ष शिखरलाई छुने।

नेता देशको दह्रो खम्बा बन्न सक्नु पर्थ्यो
साना तिना कुराहरू मिली झेल्नु पर्थ्यो
तर कसले बुध्दि भर्ने नेता भए भेडा
सोझो बाटो जादैनन ती सबै त्येस्तै टेडा।

मिलाउनु त कता कता झनै बङ्ग्याएर
खुशी हुन्छन् अझ तिनै पार्टी फुटाएर
झुटो नारा लगाउँछन् जनता फकाउन
सोझा जनता भोट दिन्छन तिनलाई जिताउन।

तर खै त के भयो र जनताको हात खाली
सप्रदैन बोट विरूवा खराब परे माली
अरुको भर नपरेर आफै केही गरौं
भोली भोली नभनेर आजै शुरु गरौं।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Thursday, August 20, 2009

तीज

“तीजैको रहर आयो बरिलै”
हो,सधै जस्तै बरिलैको भाका बोकेर
चेलीहरुको घरघरमा आएको छ तीज
माइतीको आँगनमा छम् छम् नाच्न
आँतुर छन् चेलीहरु
त्यसैले गाउँ शहर सबैतिर
आएको छ तीज
सुन पसल, चुरा पसल कपडा पसल
जताततै तीजको भीड छ
चेलीहरूलाई किनमेलको चटारो छ
हातभरी चुरा र रातो सारीमा सजिएर
कोही माइती लिन आउने पर्खाईमा बाटो कुरीबसेका छन्
कोही माइती नै छैनन् भनेर रोई बसेका छन्
यस्तै छ सबैको लागि समान कहाँ छ र तीज
पाँचतारे होटलमा आयोजना गरिएको महङ्गो दरमा रमाउने
दिदीबहिनी र
झुपडीमा आमाले पस्किएर दिएको रुखो सुखो दरले
तृप्त हुने दिदी बहिनीहरु बीच पनि त ठूलो खाडल बनेको छ तीज
दिदीको छड्के तिलहरी र मूल्यबान सारी देखेर
बहिनी नजिक जान हिच्किचाउँछिन
आफुलाई हिनता बोधको अनुभूती गर्दै
चेलीको श्रीङ्गार देखेर खुलस्त हुन सक्दैनन् माइती
कसरी जमघट हुनसक्छन र नाच्छन् छमछमती दिदीबहिनीहरु
एउटै आँगनमा।
तीज संस्कृती भन्दा पनि फेसन बन्न थालेको छ
होडबाजिमा बिकृत हुदैछ तीज
हुने र नहुने बीचको पीडा बन्दैछ तीज

दिदीबहिनीहरुकै बीच असमान बन्दै गएको छ तीज
दिदीबहिनीहरु बीच, दु:ख सुख बाड्न र
माइतीको आँगनमा भेला भएर रमाउने सुअवसर हो तीज
तर आजकल अर्कै भएको छ तीज
जो कोहीले धान्नै नसक्ने भएको छ तीज, तर
अब सबै अटाउने एउटै आँगन बनाउनु पर्छ तीज
दिदी बहिनीको भेला हुने चौतारी बनाउनु पर्छ तीज।।।
“तीजैको बेला दिदीबहिनी भेला छम्छमी आँगनीमा नाचौं बरिलै
बाबाको साथमा आमाको काखमा दिदीबहिनी संगै बसी हाँसौ बरिलै”

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Monday, August 3, 2009

शान्तिका दूत बनौं हामी

विसाऊ अब बन्दुकहरु उठाऔं कलम हातमा
लडाई लडौं विचारको लिएर विवेक साथमा
धेरै भयो तहस नहस देश पछाडी गइसक्यो
जागौं न जागौं अब त धेरै ढिला भइसक्यो।

बुध्दि विवेक बल सबै ओइरीसके विदेशतिर
अपाङ्ग, रोगी, बुढाबुढी बाँकी रहे स्वदेशतिर
कसरी होला देशको उन्नती र प्रगति
सधै यस्तै भइरहे होला झनै दू्र्गती।

आफ्नो दुनो सोझ्याउँदा अरुको भाग पोखिदिने
सच्याऔं बानी सकेदेखि अरुको हित गरिदिने
रिस द्वेष सबै त्यागी अंकमाल गरौं अब
नराखी मनमा क्लेस बसौं हामी मिली सब।

एक्लै केही हुंदैन जुटेर गरौं सामना
यो देशमा शान्ति ल्याउन गरौं सबैले कामना।
नफालौ खेर पौरख सृजनामा लगाऔं
हातेमालो गरेर यो देशलाई सघाऔं।

देशको माया नमारौं विदेशमै बस्नु परेपनि
संझेर आऔं कहिलेकाहीं थोरै दिन भएपनि
बल मिल्छ देशलाई सन्तान जागा भइदिए
कमजोर बन्छ कि यो धर्ती खाली बनाई गइदिए।

सके जुटौं सबैजना एक ढिक्का भएर
यो देश सबको साझा हो भन्ने बिचार लिएर
गरे सकिन्छ अझैपनि साहासी वीर छौं हामी
ल्याऔं शान्ति यो देशमा शान्तिका दूत बनौं हामी।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Friday, July 24, 2009

तिम्रो मन फेरिनु पर्छ

मलाई पनि तिमी जस्तै स्वतन्त्र भएर हिड्न मन लाग्छ
तर मेरा गोडा मात्र बाधिएका छैनन्
संकार र सामाजिक बन्धनले
हरेक पक्षबाट जेलिएकी छु म
फुत्किनै नसक्ने गरी
बेरिएकी छु म
म सोंच्छु, मनन गर्छु
आखिर मलाइ मात्र किन अंकुस
तिमी त स्वतन्त्र छौ मलाई मात्र किन बन्धन ?
आदर्शका नारा जति घन्काए पनि
जति हडताल विरोध र प्रदर्शन गरे पनि
वास्तविकता रित्तै छ
जति वकालत गरे पनि
हात लाग्यो जिरो
हातमा फाइल बोकेर हक हितका लागि वकालत गर्न हिड्नेहरु
आफै पीडित छन् थाहा नपाउने गरी
किनकी,
तिम्रो सोच बदलिएको छैन
संकारका नाममा धब्बा बनेका कुसंकारहरू
मेटिएका छैनन
तिम्रो मन फेरिएको छैन
अनि कसरी फेरिन सक्छ मेरो परिवेस ?
तिमी एकैछिन म भएर बाँच
मेरा रहरहरू आफु भित्र सांच
मेरो जीवन भोगेर हेर
मेरो पीडा सहेर बस
अनि मात्र तिम्रो मन फेरिन सक्छ
मेरो परिवेस सहज हुन
तिम्रो सोंच बदलिनु पर्छ
तिम्रो मन फेरिनु पर्छ।।।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Monday, July 13, 2009

जोडौं संबन्ध हामी

आजकल मेरो देश एक्लिएको छ
आत्तिएको छ
निस्सासिएको छ
जताततै लुटपाट, अपहरण,हत्याले
कमजोर बन्दै गएको छ
एक अर्कासंगको संबन्ध छुटेको छ
भाइचाराको नाता टुटेको छ
चेलीहरुको बलात्कार बेचबिखन
स्कुले बालबालिकाको अपहरण
युवाहरु विदेश पलायन
यस्तै दर्दनायक कथाको श्रीङ्खला बनेको छ मेरो देश।
मलाई लाग्छ
इतिहासले वीर नेपाली भनेर चिनाएको मेरो देश
शक्तिहीन बन्दै गएको छ
रणभूमीमा परिणत भएको छ
हामी सबै एक्लै भएका छौं
कोही कसैमा विश्वस्त छैन
जसले सक्यो उसले हान्यो, मा-यो
हार गुहार छैन
विवेकशील मानिएका हामी मानव
पशु भन्दा पनि गिरेका छौं
आफ्नो विवेकको प्रयोग गर्न नसक्ने
अविवेकी बनेका छौं
न्याय सिकाउने मेरो देश
आफै अन्यायको चपेटामा परेको छ
आज आफै पीडित छ
बेसहारा बनेको छ मेरो देश
आँशु मात्र बगेको छैन रगतमा डुबेको छ
आस्था, बिश्वास,प्रेम र सहयोग जस्तो पवित्र भावना
गुमाउँदै छौं हामी
अब होसियार बनौं हामी
सोंच बदलौं हामी
भाइचाराको नातालाई पुनर्ताजगी गरी
फेरी एक बनौं हामी
कहिल्यै नटुट्ने गरी
कहिल्यै नछुट्ने गरी
जोडौं संबन्ध हामी
फेरी विच्छेद नहुनेगरी।।।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Friday, June 12, 2009

हाम्रो यात्रा

२५ बर्ष बिते तिमी र म एउटै यात्रामा जुटेको
न मैले थाकेको अनुभव गरेकी छु न तिमी थाक्यौ
कस्तो संयोग हाम्रो यात्राको
रमणीय यात्रामा स्मरणीय संझनाहरुको कोसेली
अलिकति तिमीले बोकेका छौ, अलिकति मैले बोकेकी छु
न तिमीलाई भारी न मलाई भारी भएको छ।
कति सहज बनेको छ हाम्रो यात्रा
न भारी बिसाउने झंझट न थकाई मार्ने आवश्यकता
अनवरत हाम्रो यात्रामा
कहिले काहीं सामान्य ठेस लागे पनि
गहिरो चोट सहनु परेको छैन
न यो यात्रामा हामी आत्तिएका छौं
उकाली ओराली जस्तोसुकै पथमा पनि
यी हाम्रा पाइला एकनासले चलिरहनेछन् अनन्त अनन्त सम्म
यात्रा नटुङ्गिए सम्म।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Saturday, April 25, 2009

आमा

तिम्रो काखको न्यानो माया जोगाइराकेकी छु
तिम्रै ममता ह्रदयमा सांची राखेकी छु
कति अर्ति दिन्थ्यौ जीवन सहज बनाउनलाई
सुख शान्तिसंग आफ्नो जीवन विताउनलाई।

विर्सिन्न नि कहिले पनि त्यो मायाको फेरो
आमा तिमी संसारकै प्रिय वस्तु मेरो
आफ्नै ज्यान धरापमा पारी जन्म दियौ
अमृत जस्तै दूध ख्वाई हामीलाई हुर्काइदियौ।

छोराछोरी अघाइदिए तिमी अघाउंथ्यौ
हाँसीखुशि खेलिदिए तिमी रमाउँथ्यौ
हुँदैनथ्यो पीर तिमीलाई आफ्नो भविष्यको
चिन्ता हुन्थ्यो सधैभरी तिनकै भविष्यको।

घर आउन ढिला भए कति चिन्ता लिन्थ्यौ
घरी घरी ढोका बाहिर कहिले भित्र हुन्थ्यौ
तिम्रो माया बराबर कुनै बस्तु छैन
ईश्वरको सृष्ठिमा नै अर्को श्रेष्ठ छैन।

आमा सरी अरु तीर्थ हुदैनन् रे भन्छन्
ईश्वर पनि आमा भन्दा ठुला छैनन् भन्छन्
धन्य धन्य आमा तिमी संझी मन रुन्छ
तिमी मेरो साथमा छैनौ पीडा बोध हुन्छ।

सबै आमा तिमी जस्तै भए हुन्थ्यो कस्तो
तर पनि एकै छैनन् हामीले सोंचे जस्तो
बनून सबै तिमी जस्तै सह्रदयी माता
आमा विहीन नहुन् कोही नटुटोस् है नाता।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Monday, April 13, 2009

नयाँ बर्ष फलदायी बनोस्

अबका दिन तिमीले कहिल्यै कसैसंग लड्न नपरोस्
बन्द हड्ताल र काटमार सुन्न नपरोस्
जीवन पथमा कुनै बाधा अड्चन आइनपरोस्
मनमा शान्ति र मुहारमा कान्ति सधै छाइरहोस्
अरु के दिउँ तिमीलाइ?
नयाँ बर्ष तिम्रो सुखदायी बनोस।

विगतमा जे भयो भयो भविष्य अब सहज बनोस्
प्रगति पथमा लम्कन मनले अठोट गरिरहोस्
अरुको लागि सहारा दिने नमुना जीवन तिम्रो बनोस्
फूलको जस्तै बासना भरेको तिम्रो जीवन धन्य बनोस्
अरु के दिउँ तिमीलाइ?
नयाँ बर्ष तिम्रो फलदायी बनोस्।
नयाँ बर्ष तिम्रो सुखदायी बनोस्।।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Tuesday, March 24, 2009

शान्ति लिएर आऊ

यसपाली त तिमी आउंदा प्रेम र मायाका
लहरहरु लिएर आऊ
सुरीला मीठा धुनहरु सुसेल्दै
सबैको अनुहारमा हांसो र खुशि लिएर आऊ
पर्दैन भो अरु कोसेली
तिमी स्वस्थ्य भएर आऊ
नयां वर्ष तिमी शान्ति लिएर आऊ।

नयां सोच, उत्साह र जांगर लिएर आऊ
शुध्द मन, बचन र कर्मसंगै
अठोट लिएर आऊ
सबैलाई पुग्ने गरी सदबुध्दि लिएर आऊ
पर्दैन भो विद्रोह
एकता लिएर आऊ
नयां वर्ष तिमी शान्ति लिएर आऊ।

बल भन्दा बुध्दि र विवेक लिएर आऊ
सबैलाई बाटो देखाउने
ज्योति लिएर आऊ
आपसी सदभाव सिकाउने शिक्षा लिएर आऊ
पर्दैन भो बन्दुकका गोली
कलमको विचार लिएर आऊ
नयां वर्ष तिमी शान्ति लिएर आऊ
तिमी स्वस्थ्य भएर आऊ।

[डियरनेपाल डट कम मा प्रकाशित]

Saturday, March 21, 2009

वल्लो घाट न पल्लो तीरका भए...

सानातिना गुनासा हुन् लेखिदिने भए
कता पोखुं कता पोखुं भने जस्ता भए
कति राख्नु मनभित्र उर्लिएर आए
हल्का हुन्थ्यो मनका ब्यथा सबलाई भन्न पाए।

छोराछोरी भन्दाभन्दै दिन वित्दै गए
कमाएको श्रीसंपती तिनलाई नै खर्च भए
राम्रो भयो सबै सन्तान एक से एक भए
कोही भने स्वदेश बसे कोही विदेश गए।

वाइक मात्र होइन कोही गाडी चढने भए
सफल भयो जीवन भन्दै कति खुशि भए
तर आफ्ना इच्छा केही अधुरा नै रहे
अहिले आफू वल्लो घाट न पल्लो तीरका भए।

कति मीठो हुन्थ्यो सबै संगै खान पाए
खान पान मिलेन रे भन्दै छुट्टै खाए
बस्न मन लाग्छ कहिले केटाकेटीसंग
फुर्सद हुन्न कम्प्युटरमै लाग्छ तिनको मन।

कहिलेकाही सबैसंग भेट हुन पाए
मनका कुरा कहिलेकाही सुनाउन पाए
कति राम्रो हुन्थ्यो तर कुरा मनमै रहे
फुर्सद छैन भन्दै तिनले नसुन्दिने भए।

मन दुख्छ बोल्न हुन्न कसले बुझिदिने
कति कुरा पाए पनि कति कुरा गुमे
सोंचेका थे बुढेसकालको टेक्ने लौरो भए
तर अहिले दाउराको नि काम नदिने भए।

[नेपाल मदर डट कम मा प्रकाशित]

Friday, March 20, 2009

जीवन यात्रा

तिमी बिहान उठेर मर्निङवाक जाउ
मैले त घर कसेर सकेर पूजा गर्नु पर्छ
तिमी पर्केपछि चिया दिएर खाना बनाउनु पर्छ
छोराछोरी तयार गरी स्कूल पठाउनु पर्छ।

खाना खाएर तिमी एकैछिन पर्ख
मैले घरधन्दा सिद्याउनु पर्छ
राखन धरन गरेर आफु तयार हुनुपर्छ
हतार भै सक्यो हेर न अब अफिस जानु पर्छ।

सांझ तिमी विस्तारै आउंदै गर म छिट्टै घर पुग्नु पर्छ
अलिकति तरकारी र अरु केही किनमेल गर्नु पर्छ
छोराछोरी आत्तिए होलान् तिनलाई फकाउनु पर्छ
उनीहरुको मनका कुरा अलिकति सुनिदिनु पर्छ।

तिमी आयौ ? एकैछिन पत्रिका पढेर बस
मैले खाजा बनाउनु पर्छ
बेलुकाको जोरजाम गरेर भोलिलाई पनि सोंच्नु पर्छ
छोराछोरीको होमवर्क हेरेर लुगा मिलाइदिनु पर्छ।

तिमी एकैछिन समाचार हेर
मैले अरु पनि काम सिध्याउनु पर्छ
अलिकति लुगा धुनु पर्छ, कोठा मिलाउनु पर्छ
ऐले सबै नगरे भोलि फेरि हतार हुन्छ।

तिमी एकैछिन आराम गर
मैले छोराछोरी सुताउनु पर्छ
टाउको दुखेको छ भन्छे छोरी अलिकति मलहम लगाइदिनु पर्छ
निदाउनै लाग्यो छोरा एकैछिन् सुमसम्याइदिनु पर्छ।

आऊ अब फुर्सद भयो तिमी र म बस्नु पर्छ
तिम्रो सामिप्यले मेरो सबै थकाई मर्छ
एकैछिन मनका कुरा साटासाट गर्नु पर्छ
केही तिमीले केही मैले संझौता गर्नैपर्छ।

हेरन! जीवनको हरेकपल महत्वपूर्ण हुन्छ
अलिकति ढिला गरे पछि पछुताउनु पर्छ
समयको गतिसंगै चल्न सक्नु पर्छ
यस्तै हो जीवन यात्रा यसैमा रम्नु पर्छ।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Monday, March 9, 2009

रातो गुलाव रोपेकी छु

तिम्रो जीवनको हरेक पलमा खुशिहरु भरिदिन
तिम्रा हरेक सुकार्यमा सफलताले चुमिदिन
धेरै धेरै शभकामना साचेंकी छु
नयां वर्षमा तिमीलाई दिन
रातो गुलाव
आफनै बगैचामा रोपेकी छु।

जूनसंग अलिकति शितलता लिएकी छु
घामसंग अलिकति उज्यालो मागेकी छु
तिम्रो जीवन रंगाइदिन
इन्द्रेणीलाई निम्त्याएकी छु
नयां बर्षमा तिमीलाई दिन
रातो गुलाव
आफ्नै बगैचामा रोपेकी छु।

मुटुभित्र माया लुकाएकी छ
तिमीलाई लुकी लुकी हेर्ने नजर लुकाएकी छु
तिमीलाई अरुले नदेखुन् भनेर
बादलुलाई लुकाउन भनेकी छु
नयां बर्षमा तिमीलाई दिन
रातो गुलाव
आफ्नै बगैचामा रोपेकी छु

शिखरबाट सफलता ल्याएकी छु
लेक बेसीबाट मीठो भाका बोलाएकी छु
तिम्रो जीवनमा संगित भरिदिन
डम्फु र मादललाई डाकेकी छु
नयां बर्षमा तिमीलाई दिन
रातो गुलाव
आफ्नै बगैचामा रोपेकी छु।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Sunday, March 8, 2009

नारी दिवस र यसको सान्दर्भिकता

चार सन्तानकी आमा मनमायाले (नाम परिवर्तन) अर्काको घर धन्दा गरेर आफ्ना लालाबाला पाल्दै आएको दस वर्ष भइसक्यो। सधै बेलुका रक्सीले मातेर घर आउने लोग्नेसँगको बसाइ र बेलाबेलामा लोग्नेबाट हुने पाशविक पिटाइका कारण ५-७ दिनसम्म थला पर्नु मनमायाको लागि सामान्य भइसकेको छ। बालबच्चालाई पढाउनेभन्दा पनि उनीहरूको पेट भर्ने समस्या जटिल छ मनमायालाई। बिरामी पर्दा त झन् कहाली लाग्दो अवस्था हुन्छ। बालबच्चा मात्र हेरेर पनि पुग्दैन। लोग्नेले सधैजसो ल्याउने जँड्याहा पाहुनालाई समेत खुवाउने चाँजो मिलाउनुपर्छ। नत्र उही पिटाइ। बिहान पाँच बजेदेखि बेलुकी नौ बजेसम्म काममा जोतिनुपर्छ। उनलाई थकाइ लाग्न नै पाउदैन। थकाइ नै मार्न त थला नै परी ओछ्यानमै सुत्‍नुपर्छ। अनि चुलोमा आगो बल्ने त कुरै भएन।

यस्ता मनमाया हाम्रो समाजमा धेरै छन्। यिनलाई नारी दिवसको कुनै अर्थ छैन। विपन्न अवस्थामा बाँच्न वाध्य मनमाया र नारी दिवसबीच साइनो गाँसिन सकेको छैन। उनीहरूलाई नारी पनि समाजका अभिन्न अङ्ग हुन् र नारीबिना समाजको परिकल्पना गर्न सकिँदैन भन्ने पनि थाहा छैन। दिन रात हाड घोटेर पनि उनीहरूलाई आफ्नो अस्तित्व बोध भएको छैन। परिवारमा आफूले कस्तो भूमिका पूरा गरेकी छु भनेर थाहा छैन । ऊनीहरूको कामको मूल्याङ्कन कसले गरिदिने?

हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ। नारी दिवसकै अवसर पारेर कार्यक्रम आयोजना गरिन्छ। यसरी मनाइने नारी दिवसले नेपाली महिलाको सही प्रतिनिधत्व गरे नगरेको लेखाजोखा गर्नु सान्दर्भिक हुन आउँछ।
सरकारी कार्यालय, संस्थान तथा शैक्षिक प्रतिष्ठानमा महिलालाई नारी दिवस मनाउन बिदा दिने गरिन्छ। यसरी दिइने बिदाले हाम्रो समाजका कति र कस्ता महिलालाई समेट्न सकेको छ भन्ने पनि विचार गर्नुपर्ने हुन्छ। महिलाकै कार्यक्रमले महिलालाई नै समेट्न सकेन भने औँचित्य नै के रह्यो र? कार्यालयबाट बिदाको उपयोग गरेर नारी दिवस मनाइरहेका दिदीबहिनीले पछाडि फर्केर हेरिदिनुपर्छ। कतै यस्ता नारी दिवस नियमितता कायम राख्‍नका लागि मात्र आयोजित त छैनन्? अझ अर्को पक्षबाट हेर्दा मनमायाहरूलाई यस स्थितिसम्म पुर्‍याउन प्रत्यक्ष वा परोक्षरूपमा नारी दिवस मनाउने अगुवा नारीले नै सघाउ पुर्‍याइरहेका त छैनौं? हाम्रो दोहोरो मापदण्ड नेपालमा नारी समस्याको प्रमुख कारक हो भन्ने स्वयंले मनन गर्नु आवश्यक छ। मनमायासम्म नपुगे पनि हाम्रो आचरण शुद्धिका लागि प्रेरणादायी हुनसके नारी दिवसको थोरै भएपनि सान्दर्भिकता देखिनेछ।

महिलाहरूले आफ्नो पहिचान बनाउन नसकेसम्म महिला स्वतत्रताको कुनै अर्थ रहदैन। अझै पनि अधिकांश नेपालीका मनमा “न स्त्री स्वातन्त्र्य मर्हति” अर्थात् स्त्री कहिलैपनि स्वतन्त्र हुँदैनन् भन्ने उक्तिले विशेष स्थान पाएको सबैले अनुभव गरेका छौं। यस्तो अवस्थामा महिलाले महिला मुक्तिको प्रमुख बाधकको पहिचान नगरेसम्म नारी दिवसको भाषणले मात्र मनमायाहरूको जीवनमा परिवर्तन ल्याउन सक्दैन।

महिला मुक्तिको प्रमुख व्यवधान विद्यमान सामाजिक संरचना हो। यसमा परिवर्तन नआएसम्म महिला मुक्ति र विकास केही महिलाबीच मात्र सीमित रहने छ। यसको परिवर्तन दीर्घकालीन कार्ययोजनाबाट मात्र सम्भव छ र यसको प्रमुख माध्यम शिक्षा हो। तर हाल दिइँदै आएको शिक्षाले शिक्षित महिलालाई यथार्थभन्दा टाढा पुर्‍याउने काम मात्र गरेको छ। हाम्रा शैक्षिक लगानी र पाठ्यवस्तु नेपाली महिलाको जीवनशैलीदेखि पृथक धाराबाट प्रवाहित छन्। यसबाट नेपालको शैक्षिक जगत महिलाहरूको यथार्थ समस्या पहिचान गर्ने र सामाजिक रूपान्तरणका लागि क्रियाशील हुन सक्ने अवस्थामा छैन। शैक्षिक उन्नयन सामूहिक जागरण र अनुशीलताभन्दा पनि आत्मोन्नतिमा केन्द्रित रहेकोले महिला मुक्तिको अभियानले गति नपाएको देखिन्छ। यसका लागि हाम्रो वर्तमान कार्यनीति प्रत्यक्ष रूपमा सामाजिक सामञ्जस्य स्थापना गर्नेतर्फ उन्मुख हुन जरुरी छ।

प्रतिस्पर्धामा आधारित जीवन पध्दति महिलारका लागि बडी पीडादायी बन्न पुगेको छ। खासगरी भूमंडलीकरणबाट सिर्जित समस्याबीच बजारमुखी अर्थव्यवस्थामा बाच्न बाध्य विपन्न समुदायका महिलाका लागि प्रतिस्पर्धामा आधारित जीवनशैली नै अभिशाप बन्न पुगेको छ। खुला बजार व्यवस्थाका कारण अनपेक्षित दौडमा सामेल हुनुपर्ने वाध्यता सिर्जना भएको छ। यस्तो दौड असमान प्रतिस्पर्धीबीच हुने हुँदा महिलाको स्थिति अधोगति उन्मुख छ।

गरिवी कम गर्ने र सुशासन प्रदान गर्ने मुद्दा नै हाम्रा विकास योजनाका केन्द्र विन्दु बनेका छन्। केन्द्रीकृत सामाजिक संरचनाको विकल्पका रूपमा विकेन्द्रित शासन प्रणालीतर्फ हामी अग्रसर हुने प्रयासमा छौं। महिलालाई सम्मानजनक स्थितिमा नपुर्‍याएसम्म हाम्रा विकासका प्रयासको कुनै औचित्य रहदैन। नारी केन्द्रित विकासका अवधारणालाई मार्गदर्शनका रुपमा नलिएसम्म गरिवी निवारण, सुशासन र विकेन्द्रीकृत शसन व्यवस्थाको सपना सधै अधुरो रहने निश्चित छ।

यस परिप्रेक्षमा नारी दिवसको मुख्य लक्ष्य महिलालाई आफ्नो अधिकारवोध गराउनु हो। उनीहरूलाई सम्मनजनक स्थितिमा पुर्‍याउन कानुनी संरक्षण बिना सम्भव छैन। महिलाको बाँच्न पाउने अधिकार, समान जीवन यापनका अवसर र विकल्प रोज्ने छुट जस्ता आधारभूत कुराको प्रत्याभूती सहरमा बस्नेका लागि मात्र नभएर कठिन जीवन यापन गर्ने विपन्न वर्गका महिला केन्द्रित गरिनुपर्दछ। कानुनी संरक्षण, शिक्षा र चेतना संबन्धित भएकाले माहिलालाई कानुनी साक्षरता र अधिकार बोधका बारेमा जानकारी गराउन सके नारी दिवसले सार्थकता पाउन सक्ला।

नेपालका विपन्न समुदायका महिला विकल्प विहिन अवस्थामा अभिशप्त जीवन जिउन बाध्य छन्। उनीहरूका लागि भएका कानुनी प्रावधानको पनि कुनै सार्थकता छैन। यस्ता महिलालाई विकल्प दिन र आत्मरक्षाको हक सुनिस्चित गर्न सक्नुपर्छ। अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको हामीमा कर्तव्य बोध र मनमायाहरूमा अधिकार बोधको कमी हो। हामीले यस्ता महिलालाई शसक्त पार्ने कार्यक्रमहरू अठोटकासाथ अघि सार्न सकेमात्र उनीहरूको विचारमा अधिकारबोधको वीजारोपण हुनेछ। अन्यथा यस्ता नारी दिवस आउनु र जानुले कुनै अर्थ राख्दैन।

अन्तमा, विचारको प्रवाहले महिलाहरूलाई जगाउन नारी दिवसले प्रेरणा दिन सकोस्।

[दैनिकी मा प्रकाशित]

Wednesday, March 4, 2009

द्वन्द्व ब्यवस्थापनमा युवा शक्ति

देशका कर्णधार नै बिच्किए भने देशको लागि यसभन्दा ठूलो दुर्भाग्य के होला?

“५८ सालमा बाबाको हत्या भएपछि हामी टुहुरा भएका हौ। हामी चार दिदीबहिनी मध्ये ठूली दिदीको विवाह भैसक्यो। हाम्रा दाजुभाइ छैनन्। घरमा सुरक्षा नभएकोले दुई वर्षदेखि हामी तीनै जना काठंमाडौंमा आफन्तको शरणमा बस्दै आएकाछौं। आमा घरमा एक्लै हुनुहुन्छ। बाबा स्कुलमा पढाउनु हुन्थ्यो” यो भनाइ हो गोर्खाकी द्वन्द्व पीडित १९ वर्षीय गंगा ढकाल (नाम परिवर्तन) को। यी वाक्यहरू भन्दाभन्दै उनी घोप्टिएर रुन थालिन्।

त्यसरी नै रोए १६ वर्षीय करवीर धामी (नाम परिवर्तन)। माओवादीको चियो गरेको आरोपमा उनका बाबुको निर्ममतापूर्वक हत्या गरियो। त्यो पीडा खप्न नसकेर महिना दिन नबित्दै आमाको पनि मृत्यु भएपछि उनी १३ वर्षकै उमेरमा एक्लै भए।

रुकुमकी २५ वर्षीया रुपा ओली (नाम परिवर्तन) को पीडा पनि त्यस्तै छ, उनीहरूको सानो चिया पसल थियो।‍ उनका पति बाहिर चियाका गिलास पखाल्दै थिए। पसलमा चीया खान बसेका प्रहरीलाई हानेको गोली उनका पतिलाई लाग्यो र उनी त्यहीँ ढले। त्यसपछि वेसहारा बनेकी रुपा ४ र २ वर्षका छोरा लिएर काठमाडौं आइन्।
सर्लाहीकी रुक्मिणी भट्टराईको वेदना पनि कम पीडादायी छैन। माओवादी भएको शङ्कामा पतिलाई‌ सेनाले बेपत्ता पारेपछि उनका विपत्तिका दिन सुरु भएका थिए। एक वर्षपछि मात्र उनले पति मरेको थाहा पाइन्। त्यसपछि तिनवटी छोरी लिएर उनी काठमाडौं आइन्। यी केही उदाहरण मात्र हुन्। दश वर्षे द्वन्द्वको अवधिमा यस्ता पीडा भोग्ने अशंख्य छन्। एक दशक लामो द्वन्द्वले क्षतविक्षत हाम्रो देश, हामी नेपाली र हाम्रो मानिसकता एकदमै अस्वस्थ भएको छ। चाहे राज्य पक्षबाट होस् वा विद्रोही पक्षबाट आखिर मार खाने त साधारण जनता नै हुन्। शान्ति संझौता भएपछि हामी सबै खुसी भएका थियौं। विशेषगरी विस्थापित भएर पीडा भोगिरहेका त झनै खुसी थिए। त्यति बेला हामीले काठमाण्डौमा पीडादायी विस्थापित जीवनयापन गरिरहेका केही बहिनीहरूसँग सोधेका थियौ - शान्ति संझौता हुँदा तपाईँलाई कास्तो लागेको छ? सबैको उत्तर एकै खालको थियो -‘खुसी लाग्यो’, अब आफ्नै घरमा फर्कन पाइन्छ होला।´

त्यति बेला एक जना बहिनीले दिएको जवाफले भने मलाई धेरे दिनसम्म पोलिरह्यो। उनले भनेकी थिइन्- “शान्ति सम्झौता भयो, सबै आपसमा मिलेर रमाइलोसँग बस्लान् तर मेरो पति त अब फेरि फर्केर कहिल्यै आउनुहुन्न, मेरो लागि संसार त उजाडिइसक्यो।” कलिला तीनवटी छोरीको भविष्य संझेर डाँको छोडेर रोइन्। हुन पनि उनको त्यो अपूरणीय क्षति जस्तोसुकै शान्ति आएपनि पूर्ण हुनै सक्दैन। यस्तै वेदना बोकेर बाच्नेहरू धेरै छन् जसले अझै धक फुकाएर बोल्न सकेका छैनन्।

द्वन्द्वको मारमा परेका कतिपय युवामा (माहिला पुरुष) बदलाको भावन पाइन्छ। द्वन्द्वले ल्याएका यस्ता समस्या बारेमा सरकार र दलहरू बेलैमा सचेत हुन जरुरी छ। राज्यले बेलैमा तिनको घाउमा मलम लगाउन सकेन भने बदलाको भावनाले संकट नदोहोरिएला भन्न सकिन्न। तिनका लागि सरकारले छुट्टै कार्ययोजना तयार गर्नु आवश्यक देखिन्छ। यस्को लागि सर्बप्रथम त द्वन्द्व पीडितको लागत तयार गर्नुपर्छ। परिवारबाट एक्लिएका र युवा जमातलाई पहिलो प्राथमिकतामा राखेर उनीहरूको व्यवस्थापन गर्नसके द्वन्द्व पीडितलाई मात्र होइन सरकारलाई पनि सहयोग हुनेछ। यसको लागि सरकारलाई नयाँ कार्यदल खडा गर्नु पनि पर्दैन। आफ्नै देशका शिक्षित बेरोजगार युवालाई संगठित गरी “युवाका लागि युवा” कार्यक्रम मार्फत रचनात्मक काम गर्न सकिन्छ। राजनीतिक दलहरू पनि आफ्ना भातृ संगठनहरूलाई सहकार्यमा लगाउन राम्रो हुन्थ्यो।

आजका युवा सधैं आपसमा लडिरहने हो भने नेपाली जनताको शान्तिको अपेक्षा कसले पूरा गर्ने? देशका कर्णधार नै बिच्किए भने देशको लागि यसभन्दा ठूलो दुर्भाग्य के होला? त्येसैले बेलैमा सचेत भएर युवा शक्तिलाई जुटाएर देशलाई दुर्घटनाबाट जोगाउन सबै लागि परे फलदायी हुन्थ्यो।

[दैनिकी मा प्रकाशित]

Monday, March 2, 2009

कविता यसरी नै फुर्छ

कहिले काहीं कविता पानी जस्तै बग्छ
मोडै पिच्छे बदलिएर बाटो फेर्न सक्छ
जीवनको भोगाईसंगै ठोक्किएर दुख्छ
थाहै नपाई कविता यसरी नै फुर्छ।

कहिले काहीं कविता बादलभित्र लुक्छ
कहिले चाहीं धर्ती हुंदै कहिले आकाश चुम्छ
भावनामा पोखिइदै कता कता पुग्छ
थाहै नपाई कविता यसरी नै फुर्छ।

सुख के हो? दु:ख के हो ? जहां पनि पुग्छ
यो त मनको वेग न हो आफ्नै गतिमा कुंद्छ
उकाली र ओराली अनि द्यौरालीलाई छुन्छ
थाहै नपाई कविता यसरी नै फुर्छ।

आफ्नै गाथा हो कविता सबैसित हुन्छ
जीवन जीउने बाटो भने फरक फरक हुन्छ
कहीं उज्यालो कहीं अध्यारो जहां भएनी हुन्छ
थाहै नपाई कविता यसरी नै फुर्छ।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Monday, February 23, 2009

तिमी र म

तिम्रो जीवनको ‘म’ र मेरो जीवनको ‘तिमी’
हाम्रो प्राप्तिसँगैको अनुभुति
जीवनका भोगाईसँगै गरेका अनगिन्ति यात्राहरु
कति सहज, कति असहज
कति मिठा कति तीता
तर पनि पथप्रदर्शक बनेका छन् हरेक पलहरु।

तिमी उस्तै म त्यस्तै तर पनि फरक
उही ठाउँ उही परिवेश तर पनि बेग्लै
समयको अन्तरालसँगै आएको यो परिवर्तनले
तिमी र मलाई अझ परिपक्व पारेको छ,
तिमीले मलाई र मैले तिमीलाई दिएका
वाचा वन्धन खुकुलिदै गएपनि
तिमीले मलाई हेर्ने र मैले तिमीलाई हेर्ने
दृष्टिकोण उस्तै छ।

कहिले तिमीले भनेका र मैले सुनेका
कहिले मैले भनेका र तिमीले सुनेका
विगतका अनेकौं जीवनगाथाहरु र मनका व्यथाहरु
साटासाट गर्दाको क्षण,
कहिले भविष्यको सपना बुन्दै तिमी र म रमाएका दिन
कति सहज बने, कति असहज बने
कति पुरा भए, कति बाँकी छन्
तर पनि जीवन पूर्ण भएको छ
तिम्रो र मेरो माया गाडा भएको छ।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Thursday, February 19, 2009

आमा बिरामी परेकि छन्

तिमी गएदेखि
आमा बिरामी परेकि छन्
तिमीलाई नै सम्झदै
सहस्रधारा आँशु बगाइरहेकी छन्
तिमी गएदेखि
आमा विरामी परेकी छन्।

गाउमा हजुरबुबा बित्नुहुदा
लास उठाउने कोही भएनन् रे
बिरामी भएर अस्पताल जादा
डाक्टरहरु भेटिन्नन रे
यस्तै यस्तै बरबराउदै रोइरहेकी छन
तिमी गएदेखि
आमा बिरामी परेकी छन्।

तल्ला घरे इन्जिनियरदाइले पनि
अमेरिकामै बस्ने ग्रीनकार्ड पाएरे
नर्स दिदी सीता पनि अस्ट्रेलिया जाने भइन् रे
अब त गाउँ नै रित्तो भयो भनेर
डाँको छोडेर रोइरहेकी छन्
तिमी गए देखि
आमा बिरामी परेकि छन्।

पोहोर साल नै हो गाउँका
ठूळे, माने र कांइलाहरु
सबै खाडी गएका
भर्खरै खबर आयो, टुले त उहि बितेछन
माने जेल परेको छरे
अरु कति अलपत्र परेका छन् रे
यो खबरले बेहोस भएकी छन्
तिमी गए देखि
आमा बिरामी परेकी छन्।

कोही पढन जाने निहुमा
कोही काम गर्न जाने निहुमा
सबै हिडेपछि रित्तो भएको छ गाउं
त्यसैले तर्सेकी छन्
तिमि गएदेखि
आमा विरामी परेकी छन्।

जताततै काटमार र लुटपाट
महंगी अभाव
खाने पानी छैन, बिजुली बत्ती छैन
पकाउने ग्यास र मट्टितेल छैन
के छ भन्नु, केहि पनि छैन
त्यसैले आत्तिएकी छन्
तिमि गएदेखि
आमा विरामी परेकी छन्।

कहिले सन्तान विदेशिएको पीडा
कहिले अपहरणमा परेको पीडा
अनि कहिले मृत्युको खबर सुन्नु पर्दाको पीडा
पीडै पीडाले पिरोलिएकीछन्
तिमी गएदेखि
आमा बिरामी परेकी छन्।

आफ्नै मान्छे पराई भइदिदा
आफ्नैले आफ्नालाई नचिनिदिदा
दाइ र भाइको लडाइमा
कति दाइ भाइ सहादत भए
कति दिदी बहिनी विधवा भए
अनि यस्तै यस्तै के के भए
अब सहन गाह्रो भयो भनेकी छन्
तिमी गएदेखि
आमा विरामी परेकी छन्।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...