Sunday, April 25, 2010

सानी चरी (बाल कविता)

फूर्र फूर्र उड्दै आउँछन् दुइटा साना चरी
मेरो घरको दलानमा बस्छन् डेरा गरी
एक्लै होइन दुबै मिली घुर्‍‌र्यान बटुलेर
बनाउंछौं गुंड भन्छन् मेरै कोठा निर।

जीवन साथी होलान् दुबै मिली काम गर्छन्
घुर्‍‍र्यान सबै फालि दिए फेरि खोजि ल्याउँछन्
जति पटक धपाए नि फर्की आउँछन् फेरी
चुर्र चुर्र गर्दै भन्छन् बस्छौं वरिपरी।

तान्द्रा तुन्द्री बटुलेर थुप्रो लगाउंछन्
खुशि हुंदै दुबै फेरि खुबै रमाउंछन्
जति गुंड फाले पनि झर्को नमानेर
बनाउंछन् फेरि अर्को घुर्र्यान थुपारेर।

जति मैले रिसाए नि छैन तिनमा रिस
कति सफा मन तिनको छैन कुनै इख
कति सारै मेहनती सिकें मैले धेरै
गर्नु पर्ने रैछ काम नझर्केर कहिल्यै।

त्यस्तै गरी हामी सबै मेहनती भए
हुदैनथ्यो दु:ख कहिल्यै काम गर्ने भए
सिकौं अब हामी पनि त्यस्तै राम्रो बानी
धेरै गरौं मेहनत थोरै कुराकानी

Saturday, April 24, 2010

एउटा अबोध बालककको अवसान

एउटा खबर भर्खर अखबारमा पढे मैले
आज एउटा ६ बर्षीय अबोध बालकको मृत्यु भएछ
युध्दमा होइन
गाडी दुर्घटना पनि होइन
अपहरण वा पानीमा डुबेर पनि होइन
आफ्नै गुरुको पिटाई खाँदा खादै
आफ्नो जीवन समर्पण गरेछ
विचरा! त्यो अबोध शिशुले।
आफ्नै संरक्षकबाट संरक्षित हुन नसकेपछी
आफ्नै गुरु काल बनेर आएपछी
उसको चित्कार कसले सुनिदिने?
ऊ कति रोयो होला
कति छट्पटायो होला
कति निष्टुरी मन
ह्रदय नै नभएको मान्छे
कसरी गुरू बन्न सक्छ?
गुरु त बाबु समान हुन्छन् भन्छन्
त्यही विश्वासमा उसकी आमाले
गुरुकै पोल्टोमा
आफ्नो छोरोलाई
कुशल नागरिक बनाउने जिम्मा दिएकी थिई
आफुले अरुको घरमा काम गरेर जिविकोपार्जन गरेपनि
छोरालाई आफ्नै खुट्टामा उभ्याउने रहर थियो उसलाई
एउटी आमाको सपना टुट्यो
भविष्यको एउटा कर्णधारको जीवन टुङ्गियो

रहर

रहर थियो मेरो शिखरलाई चुम्ने
तर फेदीमै रोकिएँ म।
जानी नजानी गरें कोशिस धेरै
जीवनको उत्तरार्धमा ठोकिएँ म।
कठोर पो रहेछ जीवनको भोगाई
सहज ठानेको थिएँ
होइन रहेछ मेरो कति त
जसलाई आफ्नै भनी मानेको थिऐँ
पराई आई कति माया गर्ने
आफ्ना भनेका तर खुट्टा तान्ने
छुट्याउनै सकिन आफ्नो र अर्को
बनायो जीवनलाई यसैले अनौठो।
सोचेको जस्तो नहुदो रहेछ
इच्छा अनुसार नचल्दो रहेछ
बनेकोलाई भत्काउनु पर्ने
भत्के पछि पो बनाउनु पर्ने
संसारको रीत रैछ बुझ्नै नसक्ने
त्यसैमा नराम्रोसंग चोइटिएँ म।
रहर थियो सबैलाई मनमा अटाउने
संसार सुन्दर पारी सजाउँने
छरिएका सबैलाई संगै समेटी
एउटै ठूलो आँगन बनाउँने
कहाँ हुनु र कता हराएँ
रनभुल्लमा परी अल्मलिएँ
बाटो बिराएँ कि,स्मरण गुमाएँ
खै कसरी भनुँ म?
आफ्नै छायाँसंग म आफै डराएँ।।।

जुन तारा नढाकिदेऊ

ढाकिदेऊ बादलु गगनलाई नढाकिदेऊ
खुल्न देऊ सगरभरी जून तारा नढाकिदेऊ

टुकी बनी आउँछु म तिमी पर्खि बसिरहनु
भनेको हो जूनले मलाई तिमी कहिल्यै नआत्तिनु
सितारा लिएर आउँछु म तारा मलाई भन्दै थियो
हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

मलाई भेट्न आउँथ्यो रमाउँदै जून आँगनभरी
थाकेको मन सुस्थाउँथ्यो हेरेर तारा आकाशभरी
बोकी ल्याउंछु शितलता जून मलाई भन्दै थियो
हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

आउँदै थियो कि? जून यहाँ बीच बाटोमै रोकियो
टलपल गर्ने तारा पनि बादलभित्रै छोपियो
चम्काउँछु म तिम्रो जीवन तारा मलाई भन्दैथियो
हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

मायालु लाग्छ जून मलाई हेरी रमाउँछु सधैभरी
थाक्दिन कहिल्यै गनेर चम्किने तारा आँखाभरी
म आउने बाटो हेरीरहनु जुन मलाई भन्दैथियो
हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

कुरी बस्छु आउँछ जून टुकी बनी मलाई लिन
अध्यारोमा बाटो देखाई सधै मलाई साथ दिन
तारा पनि आउँदैहोला खोज्दै मलाई त्यसै गरी
सिताराले सजाउन मेरो जीवन सधैभरी।

नढाकिदेऊ बादलु गगनलाई नढाकिदेऊ
खुल्नदेऊ आकाशभरी जुन तारा नढाकिदेऊ।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...