Monday, May 30, 2011

गजल ३०

आजभोली साँझ-बिहान राम खोज्दै छु म
जीवनको रथ हाँक्ने श्याम खोज्दै छु म।।

पाप धर्म के के गरें कता बढी भयो
बहीखाता भित्र आफ्नो नाम खोज्दै छु म।।

राम्रा भन्दा नराम्रामै लाग्यो कि त मन
सच्याएर स्वर्ग जाने काम खोज्दै छु म।।

जीवनको सार तत्व इश्वर नै ठाने
त्यसैले त पाउ छुने लाम खोज्दै छु म।।

बागमती र बिष्णुमती दुर्गन्धित भए
अन्तिम श्वास बिसाउने धाम खोज्दै छु म।।

Friday, May 20, 2011

गजल २९

काट मार छोडी बरु सबको दु:ख हरौं अब
ह्रदयको कुना कुना मायै माया भरौं अब।।

तेरो मेरो गर्दा गर्दै आफन्त नि टाढा भए
फेरि नाता जोड्नलाई आफै अघि सरौं अब।।

रीस, राग, झगडाले अशान्तिको मूस्लो बढ्यो
आऊ सबै मिलीकन शान्ति - बीज छरौं अब।।

आइसक्यो ठूलो बाढी खतरा छ हामीलाई
एक अर्कालाई समाएर यो संकट तरौं अब।।

धर्ती पनि साझा हाम्रो नेपाली हो यौटै नाम
आगो झुकी पानी उठी अंकमाल गरौं अब।।

Tuesday, May 17, 2011

अनुरोध बुद्धसँग

आज बुद्ध पूर्णिमा, उनैको स्मृति स्वरुप आज साथीहरु माझ कविता बाडेँ है। सबैको सहभागीताको अपेक्षा गरेको छु। धन्यवाद।

आऊ बुद्ध  एक पटक पुनर्जन्म लेउ
अशान्तिको जरो फाली शान्ति छरीदेउ।।

पैले पनि छर्‍यौ तिमीले विश्वभरी शान्ति
छिन्न भिन्न भयो ऐले उम्रिएर क्रान्ति।।

तिमीले दिएको अहिंसाको पाठ पनि मेटे
खाली छैन बार तिथी सधै पशु रेटे।।

हुन्न भने रिसाउँछन् गर्न सम्म गरे
धर्म निरपेक्ष हुँदा यस्तै हुन्छ अरे।।

कति बर्ष लगाएर तिमीले ज्ञान पायौ
अनि पो त प्राणी सबको ह्रदयमा छायौ।।

लौन फेरी सबैलाई ब्युझाउन आउ
अहिंसा हो परम् धर्म भन्ने ज्ञान फैलाउ।।

Saturday, May 14, 2011

गजल २८

कति बस्छौ आगो बनी
हुनु पर्छ पानी पनि।।

दम्भलाई त्याग्नु पर्छ
सधै यस्तै हुन्न भनी।।

जीवनको रीत यस्तै
कोही दीन कोही धनी।।

थाहा छैन अन्त्य कस्तो
बस्नु पर्ला दिन गनी।।

आँखिरमा सबैलाई
जानै पर्ने होलातनी।।

Friday, May 6, 2011

गजल २७

दियौ बिष ल खा भनी समाएर पिएँ मैले
त्यही बिष पचाएर हाँसी हाँसी जिएँ मैले।।

तिमीलाई दिन भनी साँचेको त्यो माया पनि
मुटु सबै रित्याएर भए जति दिएँ मैले।।

तिम्रो साथ मेरो बल भन्दै दु:ख सहीरहें
मन फाट्दा तिम्रै लागी सयौं चोटी सिएँ मैले।।

सधैभरी अघि बढ सफलता चुम तिमी
तिम्रा सारा बाधाहरु बटुलेर लिएँ मैले।।

Tuesday, May 3, 2011

आमा

मेरी जन्मदाता आमा आज यो संसारमा हुनुहुन्न तर उहाँको न्यानो स्पर्षको अनुभुति अझै ताजा छ। आज मातातिर्थ औसीं, आमाको ममतासंग जोडिएको विषेश दिन। यसै अवसरमा श्रध्दा सुमन स्वरुप यी हरफ मेरी आमालाई। मायाकी खानी संपूर्ण आमाहरूलाई लाख लाख शुभकामना!!!



"आमा सरी अरु तीर्थ हुदैनन् रे भन्छन्
ईश्वर पनि आमा भन्दा ठुला छैनन् भन्छन्।
तिम्रो माया बराबरी कुनै बस्तु छैन
ईश्वरको सृष्ठिमा नै अर्को श्रेष्ठ छैन।।
सगरमाथा भन्दा पनि चुली मेरी आमा
देउता भन्दा कति गुना ठूली मेरी आमा।।"

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...