Saturday, January 29, 2011

गजल ९

हिजो आज गाउँभरी तिम्रै हल्ला सुन्छु
के भएर त्यस्तो भयौ मन मनै गुन्छु।।

आँखिर गल्ती कस्को थियो भन नढाटी
तिम्लाई संझी म पनि एक्लै बसी रुन्छु।।

दिनभरी काम गर्छु सबै बिर्सिएर
रातभरी सपनीमा तिमीसंगै हुन्छु।।

दुब्लाएका छौ रे तिमी भन्ने कुरा सुन्दा
दु:ख लाग्छ रोएर आँशुले मुख धुन्छु।।

तन टाढा भएपनि मनले मान्दैन
चित्त थाम्न नसकी तिम्रो तस्वीर छुन्छु।।

Thursday, January 27, 2011

गजल ८

तिम्रै नजिक आई अब बसिदिन सक्छु
थाहै नदिई तिम्रो मनमा पसिदिन सक्छु ।।

मलाई छोडी अन्त कतै जान खोज्यौ भने
बाहुपासमा तिमीलाई कसिदिन सक्छु ।।

तिमी भन्छौ भने कुनै डर छैन मलाई
भीरै बाट भएपनि खसिदिन सक्छु।

माया गर्दा गर्दै पनि गलत अर्थ लाए
भर छैन फेरी हेर डसिदिन सक्छु ।।

यति गर्दा फेरी पनि तिमीले मुख मोडे
आखिरमा खरानी नै घसिदिन सक्छु ।।

Wednesday, January 26, 2011

गजल ७

के हुनु र मस्तिष्कमा सबै खाली खाली
सोच्नै केही सकिएन नेता परे जाली।।

बिकास र योजनाका काम ठप्प पारी
खाने बेला सबै मिली बजाउँछन ताली।।

काम केही नगरेरै खान्छन तलब भत्ता
त्यही भएर थप्पड दिदां गर्छन उल्टै गाली।।

पदको लागी मरीहत्ते गर्छन सबै दल
सकेनन् कोही जिताउन आफ्नो मत हाली।।

विदेश जान पर्‍यो भने नाता गोता खोजी
जान्छन् सबै हुल बाँधेर देशकै इज्जत फाली

फोहर मैला जताततै दुर्गन्धित भो सबै
स्वच्छ बग्ने बागमती नि बनाइहाले नाली

गोजी भर्ने होडबाजी हो छैन देशको माया
यो भूमीलाई जोगाउन चाहियो राम्रो माली।।

Sunday, January 23, 2011

गजल ६

तिम्रो मुटु नजिक मलाई सर्न मन लाग्यो
तिम्रै आँखा वरिपरी चर्न मन लाग्यो।।

तिम्रा दु:ख पीडा सबै उखेलेर फाली
रंगीचंगी फूलको बिऊ छर्न मन लाग्यो

नौनी जस्तै कोमल तिम्रो त्यो ह्रदय भित्र
मह जस्तै मिठो रस भर्न मन लाग्यो।।

मन मिल्ने मान्छेलाई आफ्नो नजिक पाउँदा
फुकाएर मनका कुरा गर्न मन लाग्यो।।

बीच बाटोमा तिमीले मेरो हात समाई दिदा
तिमीसंगै जीवन डुङ्गा तर्न मन लाग्यो।।

Thursday, January 20, 2011

गजल ५

आज भोली धनमा सबको फल्छ जीन्दगी
फल्दा फल्दै कुहिएर गल्छ जीन्दगी।।

धनी गरीब जे भएनी भोक उस्तै हो
एकै छाक खाए पनि चल्छ जीन्दगी।।

कसैलाई ओछ्यानमै सुती सुती पुग्ने
कसैलाई चलिरहने कल छ जीन्दगी।।

एउटा पाटो फर्की हेर्दा स्वर्ग सरी मस्ती
अर्को पाटो सडेको मल छ जीन्दगी।।

कहीं भने उज्यालो छ झिलिमिली बत्ती
कहीं भने अध्यारोमै बल्छ जीन्दगी।।

सबैलाई एकैनास कहाँ हुन्छ र
भोको पेट सुतेर नै जल्छ जीन्दगी।।

गजल ४

नचाहिदा हल्लाहरु चल्छ भने चल्न देउ
तिम्रो मेरो बिचमा कोही जल्छ भने जल्न देउ।।

हामी दुई बिचको साइनो अजम्बरी हुने गरी
झ्याङ्गिएर लटरम्म फल्छ भने फल्न देउ।।

माया जस्तो ठूलो कुरा सृष्टीमा नै छैन अरु
यसैमा यो हाम्रो जीवन ढल्छ भने ढल्न देउ।।

हाँसी खुशी रमाउँदै जीउने इच्छा हुँदा हुँदै
ईश्वरले नै हामीलाई छल्छ भने छल्न देउ।।

नचाहिदा हल्लाहरु चल्छ भने चल्न देउ
तिम्रो मेरो बिचमा कोही जल्छ भने जल्न देउ।।

गजल ३

गर्छु धेरै माया भन्थ्यौ आँखिर मन मोड्नु रैछ
संगै बस्ने बाचा गर्थ्यौ खै त अहिले छोड्नु रैछ।।

निसानामा पार्‍यौ मलाई ब्याधा बनी आयौ तिमी
मिठो माया जालमा पारी आखिर बन्धन तोड्नु रैछ।।

तिमी बिना मेरो जीवन छैन कुनै सार भन्थ्यौ
ढुङ्गा बनी आयौ तिमी मेरो मटु फोड्नु रैछ।।

गर्छु धेरै माया भन्थ्यौ आँखिर मन मोड्नु रैछ
संगै बस्ने बाचा गर्थ्यौ खै त अहिले छोड्नु रैछ।।

गजल २

आज पनि दुई भाइ लडदैछन् अरे
दिन दिनै शत्रुहरू बडदैछन् अरे।।

जति सुझाव दिएपनि केही लागेन
संविधान लेख्न नेता हड्दैछन् अरे।।

आरोप र प्रत्यारोपमा दिन बिताउँदा
भएका ती खेस्रा पनि सडदैछन् अरे।।

आज हुन्छ भोली हुन्छ भन्ने आशमा
जनताहरु दल्दलमा गडदैछन् अरे।।

अब पनि यस्तै गरी दिन बिताए
चार भञ्याङ कटाउन खडदैछन् अरे।।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...