Wednesday, March 21, 2012

गजल ५०: "शुभकामना"

(Dedicated to my lovely son, Aagat Awasthi, on his 24th birthday, and to all his age-group-peers, whose birthday falls on 21st March.)

तिमीलाई जन्मदिनको मुरी मुरी शुभकामना!!!

मैले सोंचे जस्तै तिमी सधैभरी ज्ञानी बन
कैले पनि नसुक्ने त्यो सागरको पानी बन।।

भोग्नु पर्छ जीवनमा घाम पानी बरावरी
नआँतिई अघी बढी धैर्यताको खानी बन।।

सुमार्गमा तिमी हिंडे बाटो खुल्ला अरुलाई
सबैलाई डोर्‍याउने हितकारी बानी बन।।

फूल जस्तै कोमल र सुगन्धले भरिएको
आँखा भित्र राखे पनि नबिझाउने नानी बन।।

मानवको जुनी हो यो गर्नु पर्छ सेवा पनि
बेसहारा निमुखालाई माया बाँडी दानी बन।। 

Wednesday, March 7, 2012

गजल ४९

रंग खेल्ने खासै सौख मलाई छैन । अबिर भनेपछि त पहिला नै जिऊ चिलाउन थाल्छ। तर पनि आज होली हो। त्यसैले .......

खेल्न मन लाग्यो रंग
रंगिएर तिमी संग।।

अरू कोही चाहिदैन
तिमी भए हुन्छु दङ्ग।।

लोला हान्दै भाग तिमी
भिजाएर मेरो अंग।।

सातै रंग मिसाएर
खेल्दै हुँला म फुरुङ्ग।।

आए हुन्थ्यो सधै होली
साथ लिई यो उमङ्ग।।

Monday, March 5, 2012

गजल ४८: खेलौं होली

रमाइलो र रंगीन चाड होलीको उपलक्ष्य मा संपूर्ण साहित्यक मनहरुमा हार्दिक मंगलमय शुभकामना सहित यो गजल पनि यहाँहरुलाई नै।

रंङ्गीचङ्गी रमाइलो आयो फेरी चाड  होली
सबै रंग मिसाएर जम्मा गरौं धेरै लोली।।

आपसमा तानातान चिसो भयो संबन्ध यो
आफ्नै आफ्ना बिच पनि  छैन प्रेम आजभोली।।

अब मन सफा गरौं नराखेर रिस राग
रमाउँदै खेलौं रंग मिसाएर मिठो बोली।।

 आखिरमा  सबै छोडी रित्तै जानु पर्छ हामी
 नाङ्गो अंग मात्र हुन्छ हुन्न हाम्रो साथ झोली।।

लौ न मेची महाकाली सबै बर्ग भिज्ने गरी
खेलौं होली मदेश पहाड तराईको  माया घोली।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...