Sunday, June 11, 2017

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो
अर्थ बुझेकी छैन
उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेका छन्
ऊ मेरी श्रीमती हो
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

विहान सवेरै चार बजे उठ्छे
नित्य कर्म सकेर
एकैछिन भगवानको आरधना गर्छे
र आफ्नो दिनचर्यामा लाग्छे
क्याम्पस जाने छोरीको लागि नास्ता तयार गर्छे
"चिया पाक्यो बुहारी?"
सासुको आवाज सुन्छे
हत्तपत्त चिया बनाएर सासु ससुरालाई टक्र्याउंछे
खाना बनाउन हतार भैसक्यो
छिटो छिटो खाना बनाउंछे
र आठ बजे स्कूल जाने छोरालाई पस्किएर दिन्छे
अनि श्रीमानको लागि चिया लिएर माथी उक्लन्छे
श्रीमानको बेड टी खाने बानी छ, हातमा दिएर फर्कन्छे
उसलाई हतार छ
तर,
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

खाना पाकेन?" भन्दै श्रीमान तल ओर्लेको सुन्छे
हत्तपत्त  श्रीमान र सासु ससुरालाई खाना टक्र्याउंछे
अफिस जाने लुगा तयार पार्छे
हाते रुमाल मैलो रहेछ
अर्को राखिदिन्छे
मोजा जुत्तासंगै राखिदिन्छे
र श्रीमान बाहिर ननिस्कुन्जेल ढोकामा उभिरहन्छे
तर,
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

श्रीमान गएपछि ढोका लगाएर भित्र पस्न नपाउंदै,
सासुको आवाज सुन्छे "लुगा धुन पाए हुन्थ्यो"
"मेरो दौरा सुरूवाल पनि मैलो भा'थ्यो"
ससुराको पनि गुनासो थपिन्छ
माथि गएर लुगा जम्मा पार्छे
र सर्फ पानीमा लुगा भिजाउन हाल्छे
तर,
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

खाना चिसो भैसकेछ मनमनै गुन्दै खाना खान्छे
उसलाई  चिसो खाने बानी परिसकेको छ
जुठो भांडो सिध्याएर लुगा धुन्छे
ढिलै भएपनि घाम चर्को रहेछ
लुगा सुक्ने आशा लिएर तल झर्छे
बैठक कोठा फोहर देख्छे
कुचो लिएर भित्र पस्छे
तर,
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

सोफामा टुसुक्क बस्छे, टि.भी. खोल्छे
उ छक्क पर्छे, उसकै श्रीमान टेबुल ठोकी ठोकी कराइरहेका हुन्छन् -
"आउनुहोस् महिला दिदी बहिनीहरू
घरको चार दिवारबाट बाहिर निस्कनुहोस्
चुलो चौकाबाट बाहिर निस्कनुहोस
चुलो चौकोको जिम्मा तपाइंहरूको मात्र होइन
पुरूषको पनि हो, घरको काम पुरूषले पनि गर्नु पर्छ
महिलालाई देश विकासमा सहभागी हुन प्रोत्साहन गर्नु पर्छ
महिला अधिकारका बारेमा जागरूक बनाउनु पर्छ
नत्र हामीले यो पांच तारे होटलमा बसेर
नारी दिवश मनाउनुको कुनै औचित्य छैन"
यस्तै यस्तै.......

वरिपरी राम्रा राम्रा लुगा लगाएका
आइमाई र लोग्ने मान्छेहरू
हातमा कचौरा जस्ता गिलासमा
थरिथरीका रंग मिसिएको पानी पिउंदै थिए
उसले धेरै बुझिन
महिला भनेको आइमाई हो भन्ने मात्र बुझी
अरू कुरामा उसले चासो पनि लिइन
ऊ दङ्ग परेकी थिई
श्रीमानले बोलेको देखेर।
"चिया खाने बेला भएन?"
सासुको आवाजले उ झसङ्ग हुन्छे
हतार हतार भान्छातिर लाग्छे
तर,
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

ऊ त्यस घरमा भित्रिएको तीन दशक नाघिसक्यो
तर उसको दिनचर्यामा कुनै फेरबदल आएको छैन
फेरबदल आएको छ त उसको रूपमा
कपाल फुल्न थालेको छ
गाला चाउरी परेको छ
पहिले र अहिलेको रूपमा
आकाश जमिनको फरक छ
तर फेरिएको छैन उसको बुझाई
उसले जानेको यत्ति हो
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।
ऊ केही गर्दिन।
ऊ हाउस् वाइफ हो।।

Friday, March 21, 2014

जन्म दिनको शुभकामना

(Dedicated to my lovely son, Aagat Awasthi, on his 24th birthday, and to all his age-group-peers, whose birthday falls on 21st March.)

तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!!!

अप्प दीपो भव:। (अर्थात आफ्नो दीप आफै बन।) - गौतम बुध्द

जीवनमा कहिले पनि नहोस् तिम्रो हार
थाम्न सक जति पनि यो धर्तीको भार
विश्वलाई जित तिमी गर्छु यही कामना
जन्मदिनको तिमीलाई दिन्छु शुभकामना!!

Many many happy returns of the day, Happy birthday, Babu!!!

Monday, February 10, 2014

गजल ७०

यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी
चलाउनु पर्छ रथ बराबरी तानी।।

विस्वास र भरोसाको गोरेटोमा हिड्न
एक अर्काको मान राख्ने हुनु पर्छ बानी।।

जे म गर्छु त्यही ठीक भनी सोंच्नु हुन्न
गर्नु हुन्न कैल्यै पनि आफ्नै मनोमानी।।

तारतम्य नमिलेमा त्यसै खेर जाने
कर्कलाको पानी जस्तो हो यो जिन्दगानी।।

स्वर्ग जस्तो हुन्छ घर प्रीत मौलाउँछ
यौटा आगो हुँदा अर्को भइ दिए पानी।।

Thursday, January 30, 2014

गजल ६९

सकारात्मक सोंच लिई सिकौं बाँच्ने कला
आपसमा मिलिजुली माया साँच्ने कला।।

जीवनमा अघी बढी लक्ष सम्म पुग्न
बैरभाव रिस डाहा घृणा भाच्ने कला।।

अरुलाई दोष दिने  बानी राम्रो  हैन                      
खोजी गरौं आफुलाई आफै जाँच्ने कला।।

स्वस्थ्य रही आफ्नो आयु बढाउनलाई
आजै देखी शुरु गरौं हाँस्ने नाच्ने कला।।

Monday, December 9, 2013

कविता: गुनासो

खबरदारी नयाँ पुस्तालाई: यस्तो नबनोस् बुढेसकाल कसैको पनि।

यस पटक पेस गरें यस्तो कविता। यहाँहरुलाई कस्तो लाग्छ, प्रतिक्रिया पाउँ।

सानातिना गुनासा हुन् लेखिदिने भए
कता पोखुँ कता पोखुँ भने जस्ता भए
कति राख्नु मनभित्र उर्लिएर आए
हल्का हुन्थ्यो मनको ब्यथा सुनाउन पाए।

छोराछोरी भन्दाभन्दै दिन वित्दै गए
कमाएको श्रीसंपती तिनलाई नै खर्च भए
राम्रो भयो सबै सन्तान एक से एक भए
कोही भने स्वदेश बसे कोही विदेश गए।

छोराछोरी सबै जना सुखी हुँदै गए
सफल भयो जीवन भन्दै कति खुशि भए
तर आफ्ना इच्छा केही अधुरा नै रहे
अहिले आफू वल्लो घाट न पल्लो तीरका भए।

कति मीठो हुन्थ्यो सबै संगै खान पाए
खान पान मिलेन रे भन्दै छुट्टै खाए
बस्न मन लाग्छ कहिले केटाकेटीसंग
फुर्सद हुन्न कम्प्युटरमै लाग्छ तिनको मन।

कहिलेकाही सबैसंग भेट हुन पाए
मनका कुरा कहिलेकाही सुनाउन पाए
कति राम्रो हुन्थ्यो तर कुरा मनमै रहे
फुर्सद छैन भन्दै तिनले नसुन्दिने भए।

मन दुख्छ बोल्न हुन्न कसले बुझिदिने
कति कुरा पाए पनि कति कुरा गुमे
सोंचेका थे बुढेसकालको टेक्ने लौरो भए
तर अहिले दाउराको नि काम नदिने भए।

Sunday, December 1, 2013

गजल ६८

म त धेरै तिमीलाई माया गर्ने मान्छे
पर्‍यो भने प्राण दिई आफु मर्ने मान्छे।।

सुख हुँदा मात्र  साथ रोजाई हैन मेरो
दु:ख पर्दा तिम्रो सारा पीर हर्ने मान्छे।।

जीवनको उकाली र ओरालीमा हिड्दा
चोट लागे  मलम् बनी घाऊ भर्ने मान्छे।।

तिमी चढे शिखरमा सफलता चुम्दै
त्यही खुशीमा रमाएर तल झर्ने मान्छे।।

जहाँ जाऊ साथै हुन्छु तिम्रै वरिपरी
आफु फुली तिमीलाई सुवास् छर्ने मान्छे।।

Wednesday, November 13, 2013

गजल

[पुरा गरौं त साथीहरु...]

छैन पीर देश आज छिया छिया हुँदा खेरी
किन रुन्न तिम्रो मन मातृभूमी रुँदा खेरी !

जताततै  बिष्फोट र बारुदका गोला हानी
कस्तो खुशी ! आफन्तले आँशुले मुख धुँदा खेरी !

जाँदै थिए बस चढी पड्क्यो बम बस भित्र
कठै ! आमा त्यहीं लडीन् छोरालाई छुँदाखेरी।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...