Tuesday, March 24, 2009

शान्ति लिएर आऊ

यसपाली त तिमी आउंदा प्रेम र मायाका
लहरहरु लिएर आऊ
सुरीला मीठा धुनहरु सुसेल्दै
सबैको अनुहारमा हांसो र खुशि लिएर आऊ
पर्दैन भो अरु कोसेली
तिमी स्वस्थ्य भएर आऊ
नयां वर्ष तिमी शान्ति लिएर आऊ।

नयां सोच, उत्साह र जांगर लिएर आऊ
शुध्द मन, बचन र कर्मसंगै
अठोट लिएर आऊ
सबैलाई पुग्ने गरी सदबुध्दि लिएर आऊ
पर्दैन भो विद्रोह
एकता लिएर आऊ
नयां वर्ष तिमी शान्ति लिएर आऊ।

बल भन्दा बुध्दि र विवेक लिएर आऊ
सबैलाई बाटो देखाउने
ज्योति लिएर आऊ
आपसी सदभाव सिकाउने शिक्षा लिएर आऊ
पर्दैन भो बन्दुकका गोली
कलमको विचार लिएर आऊ
नयां वर्ष तिमी शान्ति लिएर आऊ
तिमी स्वस्थ्य भएर आऊ।

[डियरनेपाल डट कम मा प्रकाशित]

Saturday, March 21, 2009

वल्लो घाट न पल्लो तीरका भए...

सानातिना गुनासा हुन् लेखिदिने भए
कता पोखुं कता पोखुं भने जस्ता भए
कति राख्नु मनभित्र उर्लिएर आए
हल्का हुन्थ्यो मनका ब्यथा सबलाई भन्न पाए।

छोराछोरी भन्दाभन्दै दिन वित्दै गए
कमाएको श्रीसंपती तिनलाई नै खर्च भए
राम्रो भयो सबै सन्तान एक से एक भए
कोही भने स्वदेश बसे कोही विदेश गए।

वाइक मात्र होइन कोही गाडी चढने भए
सफल भयो जीवन भन्दै कति खुशि भए
तर आफ्ना इच्छा केही अधुरा नै रहे
अहिले आफू वल्लो घाट न पल्लो तीरका भए।

कति मीठो हुन्थ्यो सबै संगै खान पाए
खान पान मिलेन रे भन्दै छुट्टै खाए
बस्न मन लाग्छ कहिले केटाकेटीसंग
फुर्सद हुन्न कम्प्युटरमै लाग्छ तिनको मन।

कहिलेकाही सबैसंग भेट हुन पाए
मनका कुरा कहिलेकाही सुनाउन पाए
कति राम्रो हुन्थ्यो तर कुरा मनमै रहे
फुर्सद छैन भन्दै तिनले नसुन्दिने भए।

मन दुख्छ बोल्न हुन्न कसले बुझिदिने
कति कुरा पाए पनि कति कुरा गुमे
सोंचेका थे बुढेसकालको टेक्ने लौरो भए
तर अहिले दाउराको नि काम नदिने भए।

[नेपाल मदर डट कम मा प्रकाशित]

Friday, March 20, 2009

जीवन यात्रा

तिमी बिहान उठेर मर्निङवाक जाउ
मैले त घर कसेर सकेर पूजा गर्नु पर्छ
तिमी पर्केपछि चिया दिएर खाना बनाउनु पर्छ
छोराछोरी तयार गरी स्कूल पठाउनु पर्छ।

खाना खाएर तिमी एकैछिन पर्ख
मैले घरधन्दा सिद्याउनु पर्छ
राखन धरन गरेर आफु तयार हुनुपर्छ
हतार भै सक्यो हेर न अब अफिस जानु पर्छ।

सांझ तिमी विस्तारै आउंदै गर म छिट्टै घर पुग्नु पर्छ
अलिकति तरकारी र अरु केही किनमेल गर्नु पर्छ
छोराछोरी आत्तिए होलान् तिनलाई फकाउनु पर्छ
उनीहरुको मनका कुरा अलिकति सुनिदिनु पर्छ।

तिमी आयौ ? एकैछिन पत्रिका पढेर बस
मैले खाजा बनाउनु पर्छ
बेलुकाको जोरजाम गरेर भोलिलाई पनि सोंच्नु पर्छ
छोराछोरीको होमवर्क हेरेर लुगा मिलाइदिनु पर्छ।

तिमी एकैछिन समाचार हेर
मैले अरु पनि काम सिध्याउनु पर्छ
अलिकति लुगा धुनु पर्छ, कोठा मिलाउनु पर्छ
ऐले सबै नगरे भोलि फेरि हतार हुन्छ।

तिमी एकैछिन आराम गर
मैले छोराछोरी सुताउनु पर्छ
टाउको दुखेको छ भन्छे छोरी अलिकति मलहम लगाइदिनु पर्छ
निदाउनै लाग्यो छोरा एकैछिन् सुमसम्याइदिनु पर्छ।

आऊ अब फुर्सद भयो तिमी र म बस्नु पर्छ
तिम्रो सामिप्यले मेरो सबै थकाई मर्छ
एकैछिन मनका कुरा साटासाट गर्नु पर्छ
केही तिमीले केही मैले संझौता गर्नैपर्छ।

हेरन! जीवनको हरेकपल महत्वपूर्ण हुन्छ
अलिकति ढिला गरे पछि पछुताउनु पर्छ
समयको गतिसंगै चल्न सक्नु पर्छ
यस्तै हो जीवन यात्रा यसैमा रम्नु पर्छ।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Monday, March 9, 2009

रातो गुलाव रोपेकी छु

तिम्रो जीवनको हरेक पलमा खुशिहरु भरिदिन
तिम्रा हरेक सुकार्यमा सफलताले चुमिदिन
धेरै धेरै शभकामना साचेंकी छु
नयां वर्षमा तिमीलाई दिन
रातो गुलाव
आफनै बगैचामा रोपेकी छु।

जूनसंग अलिकति शितलता लिएकी छु
घामसंग अलिकति उज्यालो मागेकी छु
तिम्रो जीवन रंगाइदिन
इन्द्रेणीलाई निम्त्याएकी छु
नयां बर्षमा तिमीलाई दिन
रातो गुलाव
आफ्नै बगैचामा रोपेकी छु।

मुटुभित्र माया लुकाएकी छ
तिमीलाई लुकी लुकी हेर्ने नजर लुकाएकी छु
तिमीलाई अरुले नदेखुन् भनेर
बादलुलाई लुकाउन भनेकी छु
नयां बर्षमा तिमीलाई दिन
रातो गुलाव
आफ्नै बगैचामा रोपेकी छु

शिखरबाट सफलता ल्याएकी छु
लेक बेसीबाट मीठो भाका बोलाएकी छु
तिम्रो जीवनमा संगित भरिदिन
डम्फु र मादललाई डाकेकी छु
नयां बर्षमा तिमीलाई दिन
रातो गुलाव
आफ्नै बगैचामा रोपेकी छु।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Sunday, March 8, 2009

नारी दिवस र यसको सान्दर्भिकता

चार सन्तानकी आमा मनमायाले (नाम परिवर्तन) अर्काको घर धन्दा गरेर आफ्ना लालाबाला पाल्दै आएको दस वर्ष भइसक्यो। सधै बेलुका रक्सीले मातेर घर आउने लोग्नेसँगको बसाइ र बेलाबेलामा लोग्नेबाट हुने पाशविक पिटाइका कारण ५-७ दिनसम्म थला पर्नु मनमायाको लागि सामान्य भइसकेको छ। बालबच्चालाई पढाउनेभन्दा पनि उनीहरूको पेट भर्ने समस्या जटिल छ मनमायालाई। बिरामी पर्दा त झन् कहाली लाग्दो अवस्था हुन्छ। बालबच्चा मात्र हेरेर पनि पुग्दैन। लोग्नेले सधैजसो ल्याउने जँड्याहा पाहुनालाई समेत खुवाउने चाँजो मिलाउनुपर्छ। नत्र उही पिटाइ। बिहान पाँच बजेदेखि बेलुकी नौ बजेसम्म काममा जोतिनुपर्छ। उनलाई थकाइ लाग्न नै पाउदैन। थकाइ नै मार्न त थला नै परी ओछ्यानमै सुत्‍नुपर्छ। अनि चुलोमा आगो बल्ने त कुरै भएन।

यस्ता मनमाया हाम्रो समाजमा धेरै छन्। यिनलाई नारी दिवसको कुनै अर्थ छैन। विपन्न अवस्थामा बाँच्न वाध्य मनमाया र नारी दिवसबीच साइनो गाँसिन सकेको छैन। उनीहरूलाई नारी पनि समाजका अभिन्न अङ्ग हुन् र नारीबिना समाजको परिकल्पना गर्न सकिँदैन भन्ने पनि थाहा छैन। दिन रात हाड घोटेर पनि उनीहरूलाई आफ्नो अस्तित्व बोध भएको छैन। परिवारमा आफूले कस्तो भूमिका पूरा गरेकी छु भनेर थाहा छैन । ऊनीहरूको कामको मूल्याङ्कन कसले गरिदिने?

हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ। नारी दिवसकै अवसर पारेर कार्यक्रम आयोजना गरिन्छ। यसरी मनाइने नारी दिवसले नेपाली महिलाको सही प्रतिनिधत्व गरे नगरेको लेखाजोखा गर्नु सान्दर्भिक हुन आउँछ।
सरकारी कार्यालय, संस्थान तथा शैक्षिक प्रतिष्ठानमा महिलालाई नारी दिवस मनाउन बिदा दिने गरिन्छ। यसरी दिइने बिदाले हाम्रो समाजका कति र कस्ता महिलालाई समेट्न सकेको छ भन्ने पनि विचार गर्नुपर्ने हुन्छ। महिलाकै कार्यक्रमले महिलालाई नै समेट्न सकेन भने औँचित्य नै के रह्यो र? कार्यालयबाट बिदाको उपयोग गरेर नारी दिवस मनाइरहेका दिदीबहिनीले पछाडि फर्केर हेरिदिनुपर्छ। कतै यस्ता नारी दिवस नियमितता कायम राख्‍नका लागि मात्र आयोजित त छैनन्? अझ अर्को पक्षबाट हेर्दा मनमायाहरूलाई यस स्थितिसम्म पुर्‍याउन प्रत्यक्ष वा परोक्षरूपमा नारी दिवस मनाउने अगुवा नारीले नै सघाउ पुर्‍याइरहेका त छैनौं? हाम्रो दोहोरो मापदण्ड नेपालमा नारी समस्याको प्रमुख कारक हो भन्ने स्वयंले मनन गर्नु आवश्यक छ। मनमायासम्म नपुगे पनि हाम्रो आचरण शुद्धिका लागि प्रेरणादायी हुनसके नारी दिवसको थोरै भएपनि सान्दर्भिकता देखिनेछ।

महिलाहरूले आफ्नो पहिचान बनाउन नसकेसम्म महिला स्वतत्रताको कुनै अर्थ रहदैन। अझै पनि अधिकांश नेपालीका मनमा “न स्त्री स्वातन्त्र्य मर्हति” अर्थात् स्त्री कहिलैपनि स्वतन्त्र हुँदैनन् भन्ने उक्तिले विशेष स्थान पाएको सबैले अनुभव गरेका छौं। यस्तो अवस्थामा महिलाले महिला मुक्तिको प्रमुख बाधकको पहिचान नगरेसम्म नारी दिवसको भाषणले मात्र मनमायाहरूको जीवनमा परिवर्तन ल्याउन सक्दैन।

महिला मुक्तिको प्रमुख व्यवधान विद्यमान सामाजिक संरचना हो। यसमा परिवर्तन नआएसम्म महिला मुक्ति र विकास केही महिलाबीच मात्र सीमित रहने छ। यसको परिवर्तन दीर्घकालीन कार्ययोजनाबाट मात्र सम्भव छ र यसको प्रमुख माध्यम शिक्षा हो। तर हाल दिइँदै आएको शिक्षाले शिक्षित महिलालाई यथार्थभन्दा टाढा पुर्‍याउने काम मात्र गरेको छ। हाम्रा शैक्षिक लगानी र पाठ्यवस्तु नेपाली महिलाको जीवनशैलीदेखि पृथक धाराबाट प्रवाहित छन्। यसबाट नेपालको शैक्षिक जगत महिलाहरूको यथार्थ समस्या पहिचान गर्ने र सामाजिक रूपान्तरणका लागि क्रियाशील हुन सक्ने अवस्थामा छैन। शैक्षिक उन्नयन सामूहिक जागरण र अनुशीलताभन्दा पनि आत्मोन्नतिमा केन्द्रित रहेकोले महिला मुक्तिको अभियानले गति नपाएको देखिन्छ। यसका लागि हाम्रो वर्तमान कार्यनीति प्रत्यक्ष रूपमा सामाजिक सामञ्जस्य स्थापना गर्नेतर्फ उन्मुख हुन जरुरी छ।

प्रतिस्पर्धामा आधारित जीवन पध्दति महिलारका लागि बडी पीडादायी बन्न पुगेको छ। खासगरी भूमंडलीकरणबाट सिर्जित समस्याबीच बजारमुखी अर्थव्यवस्थामा बाच्न बाध्य विपन्न समुदायका महिलाका लागि प्रतिस्पर्धामा आधारित जीवनशैली नै अभिशाप बन्न पुगेको छ। खुला बजार व्यवस्थाका कारण अनपेक्षित दौडमा सामेल हुनुपर्ने वाध्यता सिर्जना भएको छ। यस्तो दौड असमान प्रतिस्पर्धीबीच हुने हुँदा महिलाको स्थिति अधोगति उन्मुख छ।

गरिवी कम गर्ने र सुशासन प्रदान गर्ने मुद्दा नै हाम्रा विकास योजनाका केन्द्र विन्दु बनेका छन्। केन्द्रीकृत सामाजिक संरचनाको विकल्पका रूपमा विकेन्द्रित शासन प्रणालीतर्फ हामी अग्रसर हुने प्रयासमा छौं। महिलालाई सम्मानजनक स्थितिमा नपुर्‍याएसम्म हाम्रा विकासका प्रयासको कुनै औचित्य रहदैन। नारी केन्द्रित विकासका अवधारणालाई मार्गदर्शनका रुपमा नलिएसम्म गरिवी निवारण, सुशासन र विकेन्द्रीकृत शसन व्यवस्थाको सपना सधै अधुरो रहने निश्चित छ।

यस परिप्रेक्षमा नारी दिवसको मुख्य लक्ष्य महिलालाई आफ्नो अधिकारवोध गराउनु हो। उनीहरूलाई सम्मनजनक स्थितिमा पुर्‍याउन कानुनी संरक्षण बिना सम्भव छैन। महिलाको बाँच्न पाउने अधिकार, समान जीवन यापनका अवसर र विकल्प रोज्ने छुट जस्ता आधारभूत कुराको प्रत्याभूती सहरमा बस्नेका लागि मात्र नभएर कठिन जीवन यापन गर्ने विपन्न वर्गका महिला केन्द्रित गरिनुपर्दछ। कानुनी संरक्षण, शिक्षा र चेतना संबन्धित भएकाले माहिलालाई कानुनी साक्षरता र अधिकार बोधका बारेमा जानकारी गराउन सके नारी दिवसले सार्थकता पाउन सक्ला।

नेपालका विपन्न समुदायका महिला विकल्प विहिन अवस्थामा अभिशप्त जीवन जिउन बाध्य छन्। उनीहरूका लागि भएका कानुनी प्रावधानको पनि कुनै सार्थकता छैन। यस्ता महिलालाई विकल्प दिन र आत्मरक्षाको हक सुनिस्चित गर्न सक्नुपर्छ। अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको हामीमा कर्तव्य बोध र मनमायाहरूमा अधिकार बोधको कमी हो। हामीले यस्ता महिलालाई शसक्त पार्ने कार्यक्रमहरू अठोटकासाथ अघि सार्न सकेमात्र उनीहरूको विचारमा अधिकारबोधको वीजारोपण हुनेछ। अन्यथा यस्ता नारी दिवस आउनु र जानुले कुनै अर्थ राख्दैन।

अन्तमा, विचारको प्रवाहले महिलाहरूलाई जगाउन नारी दिवसले प्रेरणा दिन सकोस्।

[दैनिकी मा प्रकाशित]

Wednesday, March 4, 2009

द्वन्द्व ब्यवस्थापनमा युवा शक्ति

देशका कर्णधार नै बिच्किए भने देशको लागि यसभन्दा ठूलो दुर्भाग्य के होला?

“५८ सालमा बाबाको हत्या भएपछि हामी टुहुरा भएका हौ। हामी चार दिदीबहिनी मध्ये ठूली दिदीको विवाह भैसक्यो। हाम्रा दाजुभाइ छैनन्। घरमा सुरक्षा नभएकोले दुई वर्षदेखि हामी तीनै जना काठंमाडौंमा आफन्तको शरणमा बस्दै आएकाछौं। आमा घरमा एक्लै हुनुहुन्छ। बाबा स्कुलमा पढाउनु हुन्थ्यो” यो भनाइ हो गोर्खाकी द्वन्द्व पीडित १९ वर्षीय गंगा ढकाल (नाम परिवर्तन) को। यी वाक्यहरू भन्दाभन्दै उनी घोप्टिएर रुन थालिन्।

त्यसरी नै रोए १६ वर्षीय करवीर धामी (नाम परिवर्तन)। माओवादीको चियो गरेको आरोपमा उनका बाबुको निर्ममतापूर्वक हत्या गरियो। त्यो पीडा खप्न नसकेर महिना दिन नबित्दै आमाको पनि मृत्यु भएपछि उनी १३ वर्षकै उमेरमा एक्लै भए।

रुकुमकी २५ वर्षीया रुपा ओली (नाम परिवर्तन) को पीडा पनि त्यस्तै छ, उनीहरूको सानो चिया पसल थियो।‍ उनका पति बाहिर चियाका गिलास पखाल्दै थिए। पसलमा चीया खान बसेका प्रहरीलाई हानेको गोली उनका पतिलाई लाग्यो र उनी त्यहीँ ढले। त्यसपछि वेसहारा बनेकी रुपा ४ र २ वर्षका छोरा लिएर काठमाडौं आइन्।
सर्लाहीकी रुक्मिणी भट्टराईको वेदना पनि कम पीडादायी छैन। माओवादी भएको शङ्कामा पतिलाई‌ सेनाले बेपत्ता पारेपछि उनका विपत्तिका दिन सुरु भएका थिए। एक वर्षपछि मात्र उनले पति मरेको थाहा पाइन्। त्यसपछि तिनवटी छोरी लिएर उनी काठमाडौं आइन्। यी केही उदाहरण मात्र हुन्। दश वर्षे द्वन्द्वको अवधिमा यस्ता पीडा भोग्ने अशंख्य छन्। एक दशक लामो द्वन्द्वले क्षतविक्षत हाम्रो देश, हामी नेपाली र हाम्रो मानिसकता एकदमै अस्वस्थ भएको छ। चाहे राज्य पक्षबाट होस् वा विद्रोही पक्षबाट आखिर मार खाने त साधारण जनता नै हुन्। शान्ति संझौता भएपछि हामी सबै खुसी भएका थियौं। विशेषगरी विस्थापित भएर पीडा भोगिरहेका त झनै खुसी थिए। त्यति बेला हामीले काठमाण्डौमा पीडादायी विस्थापित जीवनयापन गरिरहेका केही बहिनीहरूसँग सोधेका थियौ - शान्ति संझौता हुँदा तपाईँलाई कास्तो लागेको छ? सबैको उत्तर एकै खालको थियो -‘खुसी लाग्यो’, अब आफ्नै घरमा फर्कन पाइन्छ होला।´

त्यति बेला एक जना बहिनीले दिएको जवाफले भने मलाई धेरे दिनसम्म पोलिरह्यो। उनले भनेकी थिइन्- “शान्ति सम्झौता भयो, सबै आपसमा मिलेर रमाइलोसँग बस्लान् तर मेरो पति त अब फेरि फर्केर कहिल्यै आउनुहुन्न, मेरो लागि संसार त उजाडिइसक्यो।” कलिला तीनवटी छोरीको भविष्य संझेर डाँको छोडेर रोइन्। हुन पनि उनको त्यो अपूरणीय क्षति जस्तोसुकै शान्ति आएपनि पूर्ण हुनै सक्दैन। यस्तै वेदना बोकेर बाच्नेहरू धेरै छन् जसले अझै धक फुकाएर बोल्न सकेका छैनन्।

द्वन्द्वको मारमा परेका कतिपय युवामा (माहिला पुरुष) बदलाको भावन पाइन्छ। द्वन्द्वले ल्याएका यस्ता समस्या बारेमा सरकार र दलहरू बेलैमा सचेत हुन जरुरी छ। राज्यले बेलैमा तिनको घाउमा मलम लगाउन सकेन भने बदलाको भावनाले संकट नदोहोरिएला भन्न सकिन्न। तिनका लागि सरकारले छुट्टै कार्ययोजना तयार गर्नु आवश्यक देखिन्छ। यस्को लागि सर्बप्रथम त द्वन्द्व पीडितको लागत तयार गर्नुपर्छ। परिवारबाट एक्लिएका र युवा जमातलाई पहिलो प्राथमिकतामा राखेर उनीहरूको व्यवस्थापन गर्नसके द्वन्द्व पीडितलाई मात्र होइन सरकारलाई पनि सहयोग हुनेछ। यसको लागि सरकारलाई नयाँ कार्यदल खडा गर्नु पनि पर्दैन। आफ्नै देशका शिक्षित बेरोजगार युवालाई संगठित गरी “युवाका लागि युवा” कार्यक्रम मार्फत रचनात्मक काम गर्न सकिन्छ। राजनीतिक दलहरू पनि आफ्ना भातृ संगठनहरूलाई सहकार्यमा लगाउन राम्रो हुन्थ्यो।

आजका युवा सधैं आपसमा लडिरहने हो भने नेपाली जनताको शान्तिको अपेक्षा कसले पूरा गर्ने? देशका कर्णधार नै बिच्किए भने देशको लागि यसभन्दा ठूलो दुर्भाग्य के होला? त्येसैले बेलैमा सचेत भएर युवा शक्तिलाई जुटाएर देशलाई दुर्घटनाबाट जोगाउन सबै लागि परे फलदायी हुन्थ्यो।

[दैनिकी मा प्रकाशित]

Monday, March 2, 2009

कविता यसरी नै फुर्छ

कहिले काहीं कविता पानी जस्तै बग्छ
मोडै पिच्छे बदलिएर बाटो फेर्न सक्छ
जीवनको भोगाईसंगै ठोक्किएर दुख्छ
थाहै नपाई कविता यसरी नै फुर्छ।

कहिले काहीं कविता बादलभित्र लुक्छ
कहिले चाहीं धर्ती हुंदै कहिले आकाश चुम्छ
भावनामा पोखिइदै कता कता पुग्छ
थाहै नपाई कविता यसरी नै फुर्छ।

सुख के हो? दु:ख के हो ? जहां पनि पुग्छ
यो त मनको वेग न हो आफ्नै गतिमा कुंद्छ
उकाली र ओराली अनि द्यौरालीलाई छुन्छ
थाहै नपाई कविता यसरी नै फुर्छ।

आफ्नै गाथा हो कविता सबैसित हुन्छ
जीवन जीउने बाटो भने फरक फरक हुन्छ
कहीं उज्यालो कहीं अध्यारो जहां भएनी हुन्छ
थाहै नपाई कविता यसरी नै फुर्छ।

[नेपालीपोष्ट.कम मा प्रकाशित]