Saturday, July 30, 2011

गजल ३७

सगरमाथा शिरमाथी कति राम्रो  देश हेर
अझै राम्रो छ है हाम्रो आफ्नै भाषा भेष हेर ।।

बिर्सिने पो हुन कि अब नेपालीले नेपाली पन
दौरा सुरुवाल गुन्यु चोली बिर्से लाग्छ ठेस हेर

देखिएन कुनै प्रयास हाम्रो संस्कार जोगाउन
आफ्नै नाम  मेटाउने हरे कस्तो रेस हेर।।

आफ्नो शान आफ्नो मान गुमाउँदा जित हुने
यस्तो लाछी खेल बरु नभएकै बेश हेर।।

भाइ भाइ फुटे हुन्छ देश ऐले बिखन्डन
फाले हुन्थ्यो सबले बरु रिस, राग व्देष हेर।।

Sunday, July 17, 2011

गजल ३६: तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु

तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु
तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।।

पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी
तिमी टाढा हुँदाखेरी मेरो मन दुख्छ बाबु।।

परिश्रम गरौं यहीं फल्छ सुन यही धर्तीमा
तिमी साथ भयौ भने सबै दु:ख लुक्छ बाबु।।

देशको नाम उच्च पार्ने राम्रो काम गर तिमी
नराम्रो क्यै गर्‍यौ भने मेरो शीर झुक्छ बाबु।।

मैले जस्तै तिमीलाई वरपर सबले हेर्छन्
कुबाटोमा लाग्यौ भने दुनियाँले थुक्छ बाबु।।

सबै भन्दा ठूलो कुरा मति राम्रो हुनु पर्छ
पैसा भन्दा पनि तिम्रो नाम भए पुग्छ बाबु।।

Friday, July 8, 2011

गजल ३५

सधैभरी हुन्छ शान
नगुमाऊ स्वभिमान।।

जीवनमा अघि बढ्न
गर्नु हुन्न अभिमान

असफल हुन्छौ. हामी
नभएर यही ज्ञान।।

आफै ठूलो बन्नु हुन्न
राख्नु पर्छ सबको मान।।

साधा जीवन उच्च बिचार
त्यस्कै गरौं सधै सम्मान।।

Tuesday, July 5, 2011

गजल ३४

छम छम नाच्छु म त
खुशी हुँदै बाँच्छु म त।।

छोटो किन पार्नु आयु
सकेसम्म साँच्छु म त।।

सधै साथी कहाँ हुन्छ
एक्लै पनि हाँस्छु म त

घृणा द्वैष किन गर्नु
बरु माया गाँस्छु म त।।

रिस राग दम्भलाई
जरै देखी नास्छु म त।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...