Sunday, July 17, 2011

गजल ३६

तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु
तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।।

पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी
तिमी टाढा हुँदाखेरी मेरो मन दुख्छ बाबु।।

परिश्रम गरौं यहीं फल्छ सुन यही धर्तीमा
तिमी साथ भयौ भने सबै दु:ख लुक्छ बाबु।।

देशको नाम उच्च पार्ने राम्रो काम गर तिमी
नराम्रो क्यै गर्‍यौ भने मेरो शीर झुक्छ बाबु।।

मैले जस्तै तिमीलाई वरपर सबले हेर्छन्
कुबाटोमा लाग्यौ भने दुनियाँले थुक्छ बाबु।।

सबै भन्दा ठूलो कुरा मति राम्रो हुनु पर्छ
पैसा भन्दा पनि तिम्रो नाम भए पुग्छ बाबु।।

1 comment:

  1. लु म त यता आएकै रहेनछु। निरु संसारले संसारै अनुभव बाडेको रहेछ। ढिला गरि आए पनि सबै बिस्तारै पढ्दै छु। साह्रै सुन्दर रचाना रहेछ यो।
    परिश्रम गरौं यहीं फल्छ सुन यही धर्तीमा
    तिमी साथ भयौ भने सबै दु:ख लुक्छ बाबु।।

    मन छोयो मेरो

    ReplyDelete