Sunday, June 11, 2017

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो
अर्थ बुझेकी छैन
उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेका छन्
ऊ मेरी श्रीमती हो
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

विहान सवेरै चार बजे उठ्छे
नित्य कर्म सकेर
एकैछिन भगवानको आरधना गर्छे
र आफ्नो दिनचर्यामा लाग्छे
क्याम्पस जाने छोरीको लागि नास्ता तयार गर्छे
"चिया पाक्यो बुहारी?"
सासुको आवाज सुन्छे
हत्तपत्त चिया बनाएर सासु ससुरालाई टक्र्याउंछे
खाना बनाउन हतार भैसक्यो
छिटो छिटो खाना बनाउंछे
र आठ बजे स्कूल जाने छोरालाई पस्किएर दिन्छे
अनि श्रीमानको लागि चिया लिएर माथी उक्लन्छे
श्रीमानको बेड टी खाने बानी छ, हातमा दिएर फर्कन्छे
उसलाई हतार छ
तर,
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

खाना पाकेन?" भन्दै श्रीमान तल ओर्लेको सुन्छे
हत्तपत्त  श्रीमान र सासु ससुरालाई खाना टक्र्याउंछे
अफिस जाने लुगा तयार पार्छे
हाते रुमाल मैलो रहेछ
अर्को राखिदिन्छे
मोजा जुत्तासंगै राखिदिन्छे
र श्रीमान बाहिर ननिस्कुन्जेल ढोकामा उभिरहन्छे
तर,
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

श्रीमान गएपछि ढोका लगाएर भित्र पस्न नपाउंदै,
सासुको आवाज सुन्छे "लुगा धुन पाए हुन्थ्यो"
"मेरो दौरा सुरूवाल पनि मैलो भा'थ्यो"
ससुराको पनि गुनासो थपिन्छ
माथि गएर लुगा जम्मा पार्छे
र सर्फ पानीमा लुगा भिजाउन हाल्छे
तर,
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

खाना चिसो भैसकेछ मनमनै गुन्दै खाना खान्छे
उसलाई  चिसो खाने बानी परिसकेको छ
जुठो भांडो सिध्याएर लुगा धुन्छे
ढिलै भएपनि घाम चर्को रहेछ
लुगा सुक्ने आशा लिएर तल झर्छे
बैठक कोठा फोहर देख्छे
कुचो लिएर भित्र पस्छे
तर,
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

सोफामा टुसुक्क बस्छे, टि.भी. खोल्छे
उ छक्क पर्छे, उसकै श्रीमान टेबुल ठोकी ठोकी कराइरहेका हुन्छन् -
"आउनुहोस् महिला दिदी बहिनीहरू
घरको चार दिवारबाट बाहिर निस्कनुहोस्
चुलो चौकाबाट बाहिर निस्कनुहोस
चुलो चौकोको जिम्मा तपाइंहरूको मात्र होइन
पुरूषको पनि हो, घरको काम पुरूषले पनि गर्नु पर्छ
महिलालाई देश विकासमा सहभागी हुन प्रोत्साहन गर्नु पर्छ
महिला अधिकारका बारेमा जागरूक बनाउनु पर्छ
नत्र हामीले यो पांच तारे होटलमा बसेर
नारी दिवश मनाउनुको कुनै औचित्य छैन"
यस्तै यस्तै.......

वरिपरी राम्रा राम्रा लुगा लगाएका
आइमाई र लोग्ने मान्छेहरू
हातमा कचौरा जस्ता गिलासमा
थरिथरीका रंग मिसिएको पानी पिउंदै थिए
उसले धेरै बुझिन
महिला भनेको आइमाई हो भन्ने मात्र बुझी
अरू कुरामा उसले चासो पनि लिइन
ऊ दङ्ग परेकी थिई
श्रीमानले बोलेको देखेर।
"चिया खाने बेला भएन?"
सासुको आवाजले उ झसङ्ग हुन्छे
हतार हतार भान्छातिर लाग्छे
तर,
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।

ऊ त्यस घरमा भित्रिएको तीन दशक नाघिसक्यो
तर उसको दिनचर्यामा कुनै फेरबदल आएको छैन
फेरबदल आएको छ त उसको रूपमा
कपाल फुल्न थालेको छ
गाला चाउरी परेको छ
पहिले र अहिलेको रूपमा
आकाश जमिनको फरक छ
तर फेरिएको छैन उसको बुझाई
उसले जानेको यत्ति हो
ऊ केही गर्दिन
ऊ हाउस वाइफ हो।
ऊ केही गर्दिन।
ऊ हाउस् वाइफ हो।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...