चार सन्तानकी आमा मनमायाले (नाम परिवर्तन) अर्काको घर धन्दा गरेर आफ्ना लालाबाला पाल्दै आएको दस वर्ष भइसक्यो। सधै बेलुका रक्सीले मातेर घर आउने लोग्नेसँगको बसाइ र बेलाबेलामा लोग्नेबाट हुने पाशविक पिटाइका कारण ५-७ दिनसम्म थला पर्नु मनमायाको लागि सामान्य भइसकेको छ। बालबच्चालाई पढाउनेभन्दा पनि उनीहरूको पेट भर्ने समस्या जटिल छ मनमायालाई। बिरामी पर्दा त झन् कहाली लाग्दो अवस्था हुन्छ। बालबच्चा मात्र हेरेर पनि पुग्दैन। लोग्नेले सधैजसो ल्याउने जँड्याहा पाहुनालाई समेत खुवाउने चाँजो मिलाउनुपर्छ। नत्र उही पिटाइ। बिहान पाँच बजेदेखि बेलुकी नौ बजेसम्म काममा जोतिनुपर्छ। उनलाई थकाइ लाग्न नै पाउदैन। थकाइ नै मार्न त थला नै परी ओछ्यानमै सुत्नुपर्छ। अनि चुलोमा आगो बल्ने त कुरै भएन।
यस्ता मनमाया हाम्रो समाजमा धेरै छन्। यिनलाई नारी दिवसको कुनै अर्थ छैन। विपन्न अवस्थामा बाँच्न वाध्य मनमाया र नारी दिवसबीच साइनो गाँसिन सकेको छैन। उनीहरूलाई नारी पनि समाजका अभिन्न अङ्ग हुन् र नारीबिना समाजको परिकल्पना गर्न सकिँदैन भन्ने पनि थाहा छैन। दिन रात हाड घोटेर पनि उनीहरूलाई आफ्नो अस्तित्व बोध भएको छैन। परिवारमा आफूले कस्तो भूमिका पूरा गरेकी छु भनेर थाहा छैन । ऊनीहरूको कामको मूल्याङ्कन कसले गरिदिने?
हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ। नारी दिवसकै अवसर पारेर कार्यक्रम आयोजना गरिन्छ। यसरी मनाइने नारी दिवसले नेपाली महिलाको सही प्रतिनिधत्व गरे नगरेको लेखाजोखा गर्नु सान्दर्भिक हुन आउँछ।
सरकारी कार्यालय, संस्थान तथा शैक्षिक प्रतिष्ठानमा महिलालाई नारी दिवस मनाउन बिदा दिने गरिन्छ। यसरी दिइने बिदाले हाम्रो समाजका कति र कस्ता महिलालाई समेट्न सकेको छ भन्ने पनि विचार गर्नुपर्ने हुन्छ। महिलाकै कार्यक्रमले महिलालाई नै समेट्न सकेन भने औँचित्य नै के रह्यो र? कार्यालयबाट बिदाको उपयोग गरेर नारी दिवस मनाइरहेका दिदीबहिनीले पछाडि फर्केर हेरिदिनुपर्छ। कतै यस्ता नारी दिवस नियमितता कायम राख्नका लागि मात्र आयोजित त छैनन्? अझ अर्को पक्षबाट हेर्दा मनमायाहरूलाई यस स्थितिसम्म पुर्याउन प्रत्यक्ष वा परोक्षरूपमा नारी दिवस मनाउने अगुवा नारीले नै सघाउ पुर्याइरहेका त छैनौं? हाम्रो दोहोरो मापदण्ड नेपालमा नारी समस्याको प्रमुख कारक हो भन्ने स्वयंले मनन गर्नु आवश्यक छ। मनमायासम्म नपुगे पनि हाम्रो आचरण शुद्धिका लागि प्रेरणादायी हुनसके नारी दिवसको थोरै भएपनि सान्दर्भिकता देखिनेछ।
महिलाहरूले आफ्नो पहिचान बनाउन नसकेसम्म महिला स्वतत्रताको कुनै अर्थ रहदैन। अझै पनि अधिकांश नेपालीका मनमा “न स्त्री स्वातन्त्र्य मर्हति” अर्थात् स्त्री कहिलैपनि स्वतन्त्र हुँदैनन् भन्ने उक्तिले विशेष स्थान पाएको सबैले अनुभव गरेका छौं। यस्तो अवस्थामा महिलाले महिला मुक्तिको प्रमुख बाधकको पहिचान नगरेसम्म नारी दिवसको भाषणले मात्र मनमायाहरूको जीवनमा परिवर्तन ल्याउन सक्दैन।
महिला मुक्तिको प्रमुख व्यवधान विद्यमान सामाजिक संरचना हो। यसमा परिवर्तन नआएसम्म महिला मुक्ति र विकास केही महिलाबीच मात्र सीमित रहने छ। यसको परिवर्तन दीर्घकालीन कार्ययोजनाबाट मात्र सम्भव छ र यसको प्रमुख माध्यम शिक्षा हो। तर हाल दिइँदै आएको शिक्षाले शिक्षित महिलालाई यथार्थभन्दा टाढा पुर्याउने काम मात्र गरेको छ। हाम्रा शैक्षिक लगानी र पाठ्यवस्तु नेपाली महिलाको जीवनशैलीदेखि पृथक धाराबाट प्रवाहित छन्। यसबाट नेपालको शैक्षिक जगत महिलाहरूको यथार्थ समस्या पहिचान गर्ने र सामाजिक रूपान्तरणका लागि क्रियाशील हुन सक्ने अवस्थामा छैन। शैक्षिक उन्नयन सामूहिक जागरण र अनुशीलताभन्दा पनि आत्मोन्नतिमा केन्द्रित रहेकोले महिला मुक्तिको अभियानले गति नपाएको देखिन्छ। यसका लागि हाम्रो वर्तमान कार्यनीति प्रत्यक्ष रूपमा सामाजिक सामञ्जस्य स्थापना गर्नेतर्फ उन्मुख हुन जरुरी छ।
प्रतिस्पर्धामा आधारित जीवन पध्दति महिलारका लागि बडी पीडादायी बन्न पुगेको छ। खासगरी भूमंडलीकरणबाट सिर्जित समस्याबीच बजारमुखी अर्थव्यवस्थामा बाच्न बाध्य विपन्न समुदायका महिलाका लागि प्रतिस्पर्धामा आधारित जीवनशैली नै अभिशाप बन्न पुगेको छ। खुला बजार व्यवस्थाका कारण अनपेक्षित दौडमा सामेल हुनुपर्ने वाध्यता सिर्जना भएको छ। यस्तो दौड असमान प्रतिस्पर्धीबीच हुने हुँदा महिलाको स्थिति अधोगति उन्मुख छ।
गरिवी कम गर्ने र सुशासन प्रदान गर्ने मुद्दा नै हाम्रा विकास योजनाका केन्द्र विन्दु बनेका छन्। केन्द्रीकृत सामाजिक संरचनाको विकल्पका रूपमा विकेन्द्रित शासन प्रणालीतर्फ हामी अग्रसर हुने प्रयासमा छौं। महिलालाई सम्मानजनक स्थितिमा नपुर्याएसम्म हाम्रा विकासका प्रयासको कुनै औचित्य रहदैन। नारी केन्द्रित विकासका अवधारणालाई मार्गदर्शनका रुपमा नलिएसम्म गरिवी निवारण, सुशासन र विकेन्द्रीकृत शसन व्यवस्थाको सपना सधै अधुरो रहने निश्चित छ।
यस परिप्रेक्षमा नारी दिवसको मुख्य लक्ष्य महिलालाई आफ्नो अधिकारवोध गराउनु हो। उनीहरूलाई सम्मनजनक स्थितिमा पुर्याउन कानुनी संरक्षण बिना सम्भव छैन। महिलाको बाँच्न पाउने अधिकार, समान जीवन यापनका अवसर र विकल्प रोज्ने छुट जस्ता आधारभूत कुराको प्रत्याभूती सहरमा बस्नेका लागि मात्र नभएर कठिन जीवन यापन गर्ने विपन्न वर्गका महिला केन्द्रित गरिनुपर्दछ। कानुनी संरक्षण, शिक्षा र चेतना संबन्धित भएकाले माहिलालाई कानुनी साक्षरता र अधिकार बोधका बारेमा जानकारी गराउन सके नारी दिवसले सार्थकता पाउन सक्ला।
नेपालका विपन्न समुदायका महिला विकल्प विहिन अवस्थामा अभिशप्त जीवन जिउन बाध्य छन्। उनीहरूका लागि भएका कानुनी प्रावधानको पनि कुनै सार्थकता छैन। यस्ता महिलालाई विकल्प दिन र आत्मरक्षाको हक सुनिस्चित गर्न सक्नुपर्छ। अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको हामीमा कर्तव्य बोध र मनमायाहरूमा अधिकार बोधको कमी हो। हामीले यस्ता महिलालाई शसक्त पार्ने कार्यक्रमहरू अठोटकासाथ अघि सार्न सकेमात्र उनीहरूको विचारमा अधिकारबोधको वीजारोपण हुनेछ। अन्यथा यस्ता नारी दिवस आउनु र जानुले कुनै अर्थ राख्दैन।
अन्तमा, विचारको प्रवाहले महिलाहरूलाई जगाउन नारी दिवसले प्रेरणा दिन सकोस्।
[दैनिकी मा प्रकाशित]
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...
-
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
(Dedicated to my lovely son, Aagat Awasthi, on his 24th birthday, and to all his age-group-peers, whose birthday falls on 21st March.) ति...
No comments:
Post a Comment