Thursday, August 20, 2009

तीज

“तीजैको रहर आयो बरिलै”
हो,सधै जस्तै बरिलैको भाका बोकेर
चेलीहरुको घरघरमा आएको छ तीज
माइतीको आँगनमा छम् छम् नाच्न
आँतुर छन् चेलीहरु
त्यसैले गाउँ शहर सबैतिर
आएको छ तीज
सुन पसल, चुरा पसल कपडा पसल
जताततै तीजको भीड छ
चेलीहरूलाई किनमेलको चटारो छ
हातभरी चुरा र रातो सारीमा सजिएर
कोही माइती लिन आउने पर्खाईमा बाटो कुरीबसेका छन्
कोही माइती नै छैनन् भनेर रोई बसेका छन्
यस्तै छ सबैको लागि समान कहाँ छ र तीज
पाँचतारे होटलमा आयोजना गरिएको महङ्गो दरमा रमाउने
दिदीबहिनी र
झुपडीमा आमाले पस्किएर दिएको रुखो सुखो दरले
तृप्त हुने दिदी बहिनीहरु बीच पनि त ठूलो खाडल बनेको छ तीज
दिदीको छड्के तिलहरी र मूल्यबान सारी देखेर
बहिनी नजिक जान हिच्किचाउँछिन
आफुलाई हिनता बोधको अनुभूती गर्दै
चेलीको श्रीङ्गार देखेर खुलस्त हुन सक्दैनन् माइती
कसरी जमघट हुनसक्छन र नाच्छन् छमछमती दिदीबहिनीहरु
एउटै आँगनमा।
तीज संस्कृती भन्दा पनि फेसन बन्न थालेको छ
होडबाजिमा बिकृत हुदैछ तीज
हुने र नहुने बीचको पीडा बन्दैछ तीज

दिदीबहिनीहरुकै बीच असमान बन्दै गएको छ तीज
दिदीबहिनीहरु बीच, दु:ख सुख बाड्न र
माइतीको आँगनमा भेला भएर रमाउने सुअवसर हो तीज
तर आजकल अर्कै भएको छ तीज
जो कोहीले धान्नै नसक्ने भएको छ तीज, तर
अब सबै अटाउने एउटै आँगन बनाउनु पर्छ तीज
दिदी बहिनीको भेला हुने चौतारी बनाउनु पर्छ तीज।।।
“तीजैको बेला दिदीबहिनी भेला छम्छमी आँगनीमा नाचौं बरिलै
बाबाको साथमा आमाको काखमा दिदीबहिनी संगै बसी हाँसौ बरिलै”

[नेपालीपोष्ट.कम मा प्रकाशित]

No comments:

Post a Comment