Saturday, September 19, 2009

“शुभकामना”

“पूर्ण होस मनका चाहना
हरपल सुखदायी बनोस सबको जीवनमा
यही छ मेरो कामना
विजया दशमीको शुभकामना”

नेपाली मात्रको महान पर्व विजया दशमीको
शुभ उपलक्षमा सबैलाई
हार्दिक मंगलमय शुभकामना

नेपाल र नेपालीको माया गर्ने सबैलाई
सुख दु:खमा साथ दिने मित्रहरुलाई
नेपालको भलो चिताउने शुभचिन्तकहरुलाई
मुरी मुरी शुभकामना
विजया दशमीको मंगलमय शुभकामना।

विदेशमा बसेपनि मन नेपालमै छाड्नेहरुलाई
स्वदेशमै बसेर नेपाली माटोमा रमाउनेहरुलाई
स्वदेशकै माटोमा सुन फलाउनेहरुलाई
सृजनामा नेपाल चिनाउनेहरुलाई
मुरी मुरी शुभकामना
विजया दशमीको मंगलमय शुभकामना।

शक्ति प्रदान गरुन् महाकालीले
धन धान्य भरुन् लक्ष्मीले
शान्ति छाओस यो धर्तीमा
रक्षा गरुन् नव दुर्गाले
यही छ मेरो कामना
मुरी मुरी शुभकामना
विजया दशमीको मंगलमय शुभकामना।।।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Tuesday, September 1, 2009

मिली बस्नु पर्छ

पूर्व मेची महाकाली सबै हाम्रै त हो
मिलीजुली बसेदेखि सबै आफ्नै त हो
दिल ठूलो पार्नु पर्छ आफ्नो हुनलाई
भेदभाव गर्नुहुन्न मिली बस्नलाई।

आज तिमी मेरो भन्छौ भोली कस्को हुन्छ
थाहा छैन हिजो कस्को आज अर्कै हुन्छ
मेरो मेरो भन्दा भन्दै आँखिरमा जान्छ
रित्तै आउनु रित्तै जानु साथमा के पो लान्छ।

यो देश सबको साझा संझे झगडा नै हुन्न
किन छुट्टै राज्य चाहियो एउटै भए हुन्न?
सबै मिली गरौं काम देशको भलो हुने
राखौं सबले एउटै लक्ष शिखरलाई छुने।

नेता देशको दह्रो खम्बा बन्न सक्नु पर्थ्यो
साना तिना कुराहरू मिली झेल्नु पर्थ्यो
तर कसले बुध्दि भर्ने नेता भए भेडा
सोझो बाटो जादैनन ती सबै त्येस्तै टेडा।

मिलाउनु त कता कता झनै बङ्ग्याएर
खुशी हुन्छन् अझ तिनै पार्टी फुटाएर
झुटो नारा लगाउँछन् जनता फकाउन
सोझा जनता भोट दिन्छन तिनलाई जिताउन।

तर खै त के भयो र जनताको हात खाली
सप्रदैन बोट विरूवा खराब परे माली
अरुको भर नपरेर आफै केही गरौं
भोली भोली नभनेर आजै शुरु गरौं।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Thursday, August 20, 2009

तीज

“तीजैको रहर आयो बरिलै”
हो,सधै जस्तै बरिलैको भाका बोकेर
चेलीहरुको घरघरमा आएको छ तीज
माइतीको आँगनमा छम् छम् नाच्न
आँतुर छन् चेलीहरु
त्यसैले गाउँ शहर सबैतिर
आएको छ तीज
सुन पसल, चुरा पसल कपडा पसल
जताततै तीजको भीड छ
चेलीहरूलाई किनमेलको चटारो छ
हातभरी चुरा र रातो सारीमा सजिएर
कोही माइती लिन आउने पर्खाईमा बाटो कुरीबसेका छन्
कोही माइती नै छैनन् भनेर रोई बसेका छन्
यस्तै छ सबैको लागि समान कहाँ छ र तीज
पाँचतारे होटलमा आयोजना गरिएको महङ्गो दरमा रमाउने
दिदीबहिनी र
झुपडीमा आमाले पस्किएर दिएको रुखो सुखो दरले
तृप्त हुने दिदी बहिनीहरु बीच पनि त ठूलो खाडल बनेको छ तीज
दिदीको छड्के तिलहरी र मूल्यबान सारी देखेर
बहिनी नजिक जान हिच्किचाउँछिन
आफुलाई हिनता बोधको अनुभूती गर्दै
चेलीको श्रीङ्गार देखेर खुलस्त हुन सक्दैनन् माइती
कसरी जमघट हुनसक्छन र नाच्छन् छमछमती दिदीबहिनीहरु
एउटै आँगनमा।
तीज संस्कृती भन्दा पनि फेसन बन्न थालेको छ
होडबाजिमा बिकृत हुदैछ तीज
हुने र नहुने बीचको पीडा बन्दैछ तीज

दिदीबहिनीहरुकै बीच असमान बन्दै गएको छ तीज
दिदीबहिनीहरु बीच, दु:ख सुख बाड्न र
माइतीको आँगनमा भेला भएर रमाउने सुअवसर हो तीज
तर आजकल अर्कै भएको छ तीज
जो कोहीले धान्नै नसक्ने भएको छ तीज, तर
अब सबै अटाउने एउटै आँगन बनाउनु पर्छ तीज
दिदी बहिनीको भेला हुने चौतारी बनाउनु पर्छ तीज।।।
“तीजैको बेला दिदीबहिनी भेला छम्छमी आँगनीमा नाचौं बरिलै
बाबाको साथमा आमाको काखमा दिदीबहिनी संगै बसी हाँसौ बरिलै”

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Monday, August 3, 2009

शान्तिका दूत बनौं हामी

विसाऊ अब बन्दुकहरु उठाऔं कलम हातमा
लडाई लडौं विचारको लिएर विवेक साथमा
धेरै भयो तहस नहस देश पछाडी गइसक्यो
जागौं न जागौं अब त धेरै ढिला भइसक्यो।

बुध्दि विवेक बल सबै ओइरीसके विदेशतिर
अपाङ्ग, रोगी, बुढाबुढी बाँकी रहे स्वदेशतिर
कसरी होला देशको उन्नती र प्रगति
सधै यस्तै भइरहे होला झनै दू्र्गती।

आफ्नो दुनो सोझ्याउँदा अरुको भाग पोखिदिने
सच्याऔं बानी सकेदेखि अरुको हित गरिदिने
रिस द्वेष सबै त्यागी अंकमाल गरौं अब
नराखी मनमा क्लेस बसौं हामी मिली सब।

एक्लै केही हुंदैन जुटेर गरौं सामना
यो देशमा शान्ति ल्याउन गरौं सबैले कामना।
नफालौ खेर पौरख सृजनामा लगाऔं
हातेमालो गरेर यो देशलाई सघाऔं।

देशको माया नमारौं विदेशमै बस्नु परेपनि
संझेर आऔं कहिलेकाहीं थोरै दिन भएपनि
बल मिल्छ देशलाई सन्तान जागा भइदिए
कमजोर बन्छ कि यो धर्ती खाली बनाई गइदिए।

सके जुटौं सबैजना एक ढिक्का भएर
यो देश सबको साझा हो भन्ने बिचार लिएर
गरे सकिन्छ अझैपनि साहासी वीर छौं हामी
ल्याऔं शान्ति यो देशमा शान्तिका दूत बनौं हामी।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Friday, July 24, 2009

तिम्रो मन फेरिनु पर्छ

मलाई पनि तिमी जस्तै स्वतन्त्र भएर हिड्न मन लाग्छ
तर मेरा गोडा मात्र बाधिएका छैनन्
संकार र सामाजिक बन्धनले
हरेक पक्षबाट जेलिएकी छु म
फुत्किनै नसक्ने गरी
बेरिएकी छु म
म सोंच्छु, मनन गर्छु
आखिर मलाइ मात्र किन अंकुस
तिमी त स्वतन्त्र छौ मलाई मात्र किन बन्धन ?
आदर्शका नारा जति घन्काए पनि
जति हडताल विरोध र प्रदर्शन गरे पनि
वास्तविकता रित्तै छ
जति वकालत गरे पनि
हात लाग्यो जिरो
हातमा फाइल बोकेर हक हितका लागि वकालत गर्न हिड्नेहरु
आफै पीडित छन् थाहा नपाउने गरी
किनकी,
तिम्रो सोच बदलिएको छैन
संकारका नाममा धब्बा बनेका कुसंकारहरू
मेटिएका छैनन
तिम्रो मन फेरिएको छैन
अनि कसरी फेरिन सक्छ मेरो परिवेस ?
तिमी एकैछिन म भएर बाँच
मेरा रहरहरू आफु भित्र सांच
मेरो जीवन भोगेर हेर
मेरो पीडा सहेर बस
अनि मात्र तिम्रो मन फेरिन सक्छ
मेरो परिवेस सहज हुन
तिम्रो सोंच बदलिनु पर्छ
तिम्रो मन फेरिनु पर्छ।।।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Monday, July 13, 2009

जोडौं संबन्ध हामी

आजकल मेरो देश एक्लिएको छ
आत्तिएको छ
निस्सासिएको छ
जताततै लुटपाट, अपहरण,हत्याले
कमजोर बन्दै गएको छ
एक अर्कासंगको संबन्ध छुटेको छ
भाइचाराको नाता टुटेको छ
चेलीहरुको बलात्कार बेचबिखन
स्कुले बालबालिकाको अपहरण
युवाहरु विदेश पलायन
यस्तै दर्दनायक कथाको श्रीङ्खला बनेको छ मेरो देश।
मलाई लाग्छ
इतिहासले वीर नेपाली भनेर चिनाएको मेरो देश
शक्तिहीन बन्दै गएको छ
रणभूमीमा परिणत भएको छ
हामी सबै एक्लै भएका छौं
कोही कसैमा विश्वस्त छैन
जसले सक्यो उसले हान्यो, मा-यो
हार गुहार छैन
विवेकशील मानिएका हामी मानव
पशु भन्दा पनि गिरेका छौं
आफ्नो विवेकको प्रयोग गर्न नसक्ने
अविवेकी बनेका छौं
न्याय सिकाउने मेरो देश
आफै अन्यायको चपेटामा परेको छ
आज आफै पीडित छ
बेसहारा बनेको छ मेरो देश
आँशु मात्र बगेको छैन रगतमा डुबेको छ
आस्था, बिश्वास,प्रेम र सहयोग जस्तो पवित्र भावना
गुमाउँदै छौं हामी
अब होसियार बनौं हामी
सोंच बदलौं हामी
भाइचाराको नातालाई पुनर्ताजगी गरी
फेरी एक बनौं हामी
कहिल्यै नटुट्ने गरी
कहिल्यै नछुट्ने गरी
जोडौं संबन्ध हामी
फेरी विच्छेद नहुनेगरी।।।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Friday, June 12, 2009

हाम्रो यात्रा

२५ बर्ष बिते तिमी र म एउटै यात्रामा जुटेको
न मैले थाकेको अनुभव गरेकी छु न तिमी थाक्यौ
कस्तो संयोग हाम्रो यात्राको
रमणीय यात्रामा स्मरणीय संझनाहरुको कोसेली
अलिकति तिमीले बोकेका छौ, अलिकति मैले बोकेकी छु
न तिमीलाई भारी न मलाई भारी भएको छ।
कति सहज बनेको छ हाम्रो यात्रा
न भारी बिसाउने झंझट न थकाई मार्ने आवश्यकता
अनवरत हाम्रो यात्रामा
कहिले काहीं सामान्य ठेस लागे पनि
गहिरो चोट सहनु परेको छैन
न यो यात्रामा हामी आत्तिएका छौं
उकाली ओराली जस्तोसुकै पथमा पनि
यी हाम्रा पाइला एकनासले चलिरहनेछन् अनन्त अनन्त सम्म
यात्रा नटुङ्गिए सम्म।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...