Thursday, June 14, 2012

गजल ५३

कति  सम्म सहनु र हुन पनि  अति भयो
धेरै जसो नेतासित  बिग्रिएको मति भयो।।

बनेन खै संबिधान चार बर्ष कुर्दा पनि
झगडामै बिते दिन न त सहमति भयो।।

ठप्प भयो देश  हेर जताततै बन्द मात्र
दाजु भाइ लड्दा खेरी आज यस्तो  गति भयो।।

यति सानो देशलाई टुक्रै टुक्रा पारौं भन्दै
सद्‍‍‍‍‍भाव नै बिथोलेर  हुनसम्म खति भयो।।

जति संझ्यो उति डाहा अझ बढी हुने रैछ
आगो माथी बसे जस्तै  मन भतभति भयो।।

Tuesday, May 22, 2012

गजल ५२

अखण्ड यो राज्यलाई टुक्रा टुक्रा पार्न हुन्न
हामी सबै यौटै सन्तान भात पानी बार्न हुन्न।।

आपसको खिचातानी हितकारी हुँदैहुन्न
शत्रु सामु नेपालीले कैल्यै बाजी हार्ने हुन्न।।

नेपालीको पहिचान  थरी थरी भाषा भेष
झ्याङ्गीएको सद्‍भाव यो उखेलेर मार्न हुन्न।।

पौरखीले पौरख गरे बजाउँ ताली सबै मिली
शिखरमा चढ्न खोज्दा खुट्टा तानी झार्न हुन्न।।

हातेमालो बल हो हाम्रो मिली दु:ख टार्नु पर्छ
भेदभाव गर्ने रोग  हामी बीच सार्न हुन्न।।

Friday, May 11, 2012

गजल ५१

देशमा आएको अस्थिरताले मन साह्रै कुँडियो। यो तेरो र मेरो कहिले सम्म हो, अझै टुङ्गो लाग्ला जस्तो छैन। लामो विश्राम पछी  यो मनको बह यहँहरु समक्ष प्रस्तुत गरें।  

नपारौं न टुक्रा टुक्रा यति राम्रो फूलबारी
बसौं सबै मिलिजुली कोही वारी कोही पारी।।

साझा हाम्रो यो देश हो हामी सबै नेपाली हौं
बसेकै हो पुर्खौं देखी आपसमा माया गरी।।

मजबुत पारौ अझै भाइचारा यो संबन्ध
छर्नु हुन्न झगडाको बिऊ अब घरी घरी।।

'भाइ फुटे गवार लुटे' आफैलाई घाटा होला
कैले पनि मिलिदैन  चाहा राखे थरीथरी।।

टुक्रै टुक्रा थियो पैले बाइसे र चौबिसे यो
बनाएथे पुर्खाले नै यौटै राज्य मरी मरी।।

Wednesday, March 21, 2012

गजल ५०: "शुभकामना"

(Dedicated to my lovely son, Aagat Awasthi, on his 24th birthday, and to all his age-group-peers, whose birthday falls on 21st March.)

तिमीलाई जन्मदिनको मुरी मुरी शुभकामना!!!

मैले सोंचे जस्तै तिमी सधैभरी ज्ञानी बन
कैले पनि नसुक्ने त्यो सागरको पानी बन।।

भोग्नु पर्छ जीवनमा घाम पानी बरावरी
नआँतिई अघी बढी धैर्यताको खानी बन।।

सुमार्गमा तिमी हिंडे बाटो खुल्ला अरुलाई
सबैलाई डोर्‍याउने हितकारी बानी बन।।

फूल जस्तै कोमल र सुगन्धले भरिएको
आँखा भित्र राखे पनि नबिझाउने नानी बन।।

मानवको जुनी हो यो गर्नु पर्छ सेवा पनि
बेसहारा निमुखालाई माया बाँडी दानी बन।। 

Wednesday, March 7, 2012

गजल ४९

रंग खेल्ने खासै सौख मलाई छैन । अबिर भनेपछि त पहिला नै जिऊ चिलाउन थाल्छ। तर पनि आज होली हो। त्यसैले .......

खेल्न मन लाग्यो रंग
रंगिएर तिमी संग।।

अरू कोही चाहिदैन
तिमी भए हुन्छु दङ्ग।।

लोला हान्दै भाग तिमी
भिजाएर मेरो अंग।।

सातै रंग मिसाएर
खेल्दै हुँला म फुरुङ्ग।।

आए हुन्थ्यो सधै होली
साथ लिई यो उमङ्ग।।

Monday, March 5, 2012

गजल ४८: खेलौं होली

रमाइलो र रंगीन चाड होलीको उपलक्ष्य मा संपूर्ण साहित्यक मनहरुमा हार्दिक मंगलमय शुभकामना सहित यो गजल पनि यहाँहरुलाई नै।

रंङ्गीचङ्गी रमाइलो आयो फेरी चाड  होली
सबै रंग मिसाएर जम्मा गरौं धेरै लोली।।

आपसमा तानातान चिसो भयो संबन्ध यो
आफ्नै आफ्ना बिच पनि  छैन प्रेम आजभोली।।

अब मन सफा गरौं नराखेर रिस राग
रमाउँदै खेलौं रंग मिसाएर मिठो बोली।।

 आखिरमा  सबै छोडी रित्तै जानु पर्छ हामी
 नाङ्गो अंग मात्र हुन्छ हुन्न हाम्रो साथ झोली।।

लौ न मेची महाकाली सबै बर्ग भिज्ने गरी
खेलौं होली मदेश पहाड तराईको  माया घोली।।

Tuesday, February 14, 2012

गजल ४७

प्रेम दिवसको उपलक्षमा उपहार स्वरुप यो गजल संपूर्ण साहित्यिक मनहरूमा समर्पित:

त्यो मन संगै भयो यो मन
नजिक हुँदै गयो यो तन।।

नछोडी एक अर्का को साथ
प्रगाढ बन्दै गयो यो  झन।।

भरोसा अनि थियो  विश्वास
भएन कुनै  बाचा  बन्धन।।

जीवन रथ चल्छ हर्दम      
संयम संगै गर्दै मनन।।

पाउँदा साथ बन्दै हर्षित
बन्छु म फूल उ हो चन्दन।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...