Thursday, January 30, 2014

गजल ६९

सकारात्मक सोंच लिई सिकौं बाँच्ने कला
आपसमा मिलिजुली माया साँच्ने कला।।

जीवनमा अघी बढी लक्ष सम्म पुग्न
बैरभाव रिस डाहा घृणा भाच्ने कला।।

अरुलाई दोष दिने  बानी राम्रो  हैन                      
खोजी गरौं आफुलाई आफै जाँच्ने कला।।

स्वस्थ्य रही आफ्नो आयु बढाउनलाई
आजै देखी शुरु गरौं हाँस्ने नाच्ने कला।।

Monday, December 9, 2013

कविता: गुनासो

खबरदारी नयाँ पुस्तालाई: यस्तो नबनोस् बुढेसकाल कसैको पनि।

यस पटक पेस गरें यस्तो कविता। यहाँहरुलाई कस्तो लाग्छ, प्रतिक्रिया पाउँ।

सानातिना गुनासा हुन् लेखिदिने भए
कता पोखुँ कता पोखुँ भने जस्ता भए
कति राख्नु मनभित्र उर्लिएर आए
हल्का हुन्थ्यो मनको ब्यथा सुनाउन पाए।

छोराछोरी भन्दाभन्दै दिन वित्दै गए
कमाएको श्रीसंपती तिनलाई नै खर्च भए
राम्रो भयो सबै सन्तान एक से एक भए
कोही भने स्वदेश बसे कोही विदेश गए।

छोराछोरी सबै जना सुखी हुँदै गए
सफल भयो जीवन भन्दै कति खुशि भए
तर आफ्ना इच्छा केही अधुरा नै रहे
अहिले आफू वल्लो घाट न पल्लो तीरका भए।

कति मीठो हुन्थ्यो सबै संगै खान पाए
खान पान मिलेन रे भन्दै छुट्टै खाए
बस्न मन लाग्छ कहिले केटाकेटीसंग
फुर्सद हुन्न कम्प्युटरमै लाग्छ तिनको मन।

कहिलेकाही सबैसंग भेट हुन पाए
मनका कुरा कहिलेकाही सुनाउन पाए
कति राम्रो हुन्थ्यो तर कुरा मनमै रहे
फुर्सद छैन भन्दै तिनले नसुन्दिने भए।

मन दुख्छ बोल्न हुन्न कसले बुझिदिने
कति कुरा पाए पनि कति कुरा गुमे
सोंचेका थे बुढेसकालको टेक्ने लौरो भए
तर अहिले दाउराको नि काम नदिने भए।

Sunday, December 1, 2013

गजल ६८

म त धेरै तिमीलाई माया गर्ने मान्छे
पर्‍यो भने प्राण दिई आफु मर्ने मान्छे।।

सुख हुँदा मात्र  साथ रोजाई हैन मेरो
दु:ख पर्दा तिम्रो सारा पीर हर्ने मान्छे।।

जीवनको उकाली र ओरालीमा हिड्दा
चोट लागे  मलम् बनी घाऊ भर्ने मान्छे।।

तिमी चढे शिखरमा सफलता चुम्दै
त्यही खुशीमा रमाएर तल झर्ने मान्छे।।

जहाँ जाऊ साथै हुन्छु तिम्रै वरिपरी
आफु फुली तिमीलाई सुवास् छर्ने मान्छे।।

Wednesday, November 13, 2013

गजल

[पुरा गरौं त साथीहरु...]

छैन पीर देश आज छिया छिया हुँदा खेरी
किन रुन्न तिम्रो मन मातृभूमी रुँदा खेरी !

जताततै  बिष्फोट र बारुदका गोला हानी
कस्तो खुशी ! आफन्तले आँशुले मुख धुँदा खेरी !

जाँदै थिए बस चढी पड्क्यो बम बस भित्र
कठै ! आमा त्यहीं लडीन् छोरालाई छुँदाखेरी।।

Friday, October 4, 2013

पशु बली नदेउ मलाई भन्छिन् दुर्गे माता

यो मेरो पुरानो कविता हो, तर अहिले पनि उत्तिकै सान्दर्भिक लागेकोले पुन: यहाँहरु समक्ष प्रस्तुत गरेकी छु, बाँकी हजुरहरुको प्रतिक्रियाको आशामा। यहाँहरु सबैलाई बिजया दशमी को हार्दिक मंगलमय शुभकामना!!!

अक्षता र फूल-पाती यति भए पुग्छ
मनमा श्रध्दा विश्वास राखी आइदिए हुन्छ
सन्तान र आमाको हो तिम्रो मेरो नाता
पशुबली नदेउ मलाई भन्छिन् दुर्गे माता।

माया जस्तो ठूलो कुरा के छ अरु दिने
सोच्नुहुन्न कहिलेपनि अरुको प्राण लिने
सबैको म संरक्षक हुँ छैन अर्को नाता
पशु बली नदेउ  मलाई भन्छिन् दुर्गे माता।

निरीह ती पशुपंक्षी काटमार गरी
के को खुशी हुन्थे म र, मरीतुल्य सरी
आफ्नै सन्तान लडेका ती हेरुँ कताकता
पशु बली नदेउ मलाई भन्छिन् दुर्गे माता।

सक्छौ भने माया देउ बाँच्ने आधार देउ
सक्दैन ऊ बोल्न केही मनको कुरा बुझिदेउ
उसँग नि तिमी जस्तै बराबरी नाता
पशु बली नदेउ मलाई भन्छिन् दुर्गे माता।

कहिल्यै पनि मागिन है बली देउ भनी
तर किन बसिरह्यो कुसंस्कार बनी
तिम्रो रगत पिएपछि के रह्यो र नाता
पशु बली नदेउ  मलाई भन्छिन् दुर्गे माता।

हत्या हिंसा त्यागे मात्र स्वस्थ्य समाज बन्छ
माया प्रेम बाड्न सके शान्ति घरमै आउँछ
भाइचाराको नातालाई फैलाऔँ आजैबाट
अभियान शुरु गरौं पहिले आफैबाट।

आशिर्वाद दिने मेरो तिमीसँग नाता
पशु बली नदेउ मलाइ भन्छिन् दुर्गे माता
सन्तान र आमाको हो तिम्रो मेरो नाता
पशु बली नदेउ मलाई भन्छिन दुर्गे माता।

ज्यान लिने कुःकर्ममा लाग्दिन म भनी
गरौं प्रण आजैदेखि सुध्रिन्छु म भनी
शुभकामना सबैलाई यही मेरो पनि
भवानीले बनाउन् सबलाई सद्‌वुद्धिका धनी।

सबैलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना!!

Tuesday, June 25, 2013

गजल

लौ त नेता अब चाहीं चुनाबमा जुट्नुहोस्
खल्ती रित्तो भयो होला सबैसंग लुट्नुहोस्।।

झुट्टा आश्वासन भरी पर्चा अनि प्रचारको
बिरोध भए कतैबाट गुण्डा ल्याई चुट्नुहोस्।।

जनताको मन जित्न सकिएन जस्तो लागे
केही छैन बन्दुकले सके जति भुट्नुहोस्।।

सिधा साधा जनतालाई अझै पनि झुक्याउन
भए जति गल्तीलाई भषणले खुट्नुहोस्।।

चुनाब नै बिथोल्दिने कुनै नयाँ खेल भए
मैदानमा उत्रिएर खेल खेल्न नछुट्नुहोस्।।

Thursday, May 16, 2013

गजल ६७

भरी थियो तिम्रो माया खाली भयो आज
हिजो सम्म मिठो बोली गाली भयो आज।।

सातै जुनी संगै हौंला भन्थ्यौ कुनै दिन
एकै जुनी काट्न माया जाली भयो आज।।

के थियो र कसूर भन तिमीलाई बिझ्यो
यति चोखो माया पनि फाली भयो आज।।

इष्ट मित्र सबै भन्थे ढुकुरको जोडी
हेर्दा हेर्दै शत्रुलाई ताली भयो आज।।

आँधीबेरी असिनामा तिमीसंगै झुलें
छोड्यौ साथ लाछिएको डाली भयो आज।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...