Tuesday, September 4, 2012

गजल ५७

सातै जन्म हुनु है त तिमी साथ मेरो
अप्ठेरोमा परें  भने थाम्नु हात मेरो।।

जुनी जुनी बाँच्छ माया समर्पण भए
साँच्चै हो यो तिमी पनि मान बात मेरो।।

जे जे भन्छु त्यहि मान्छौ बिमती नै छैन
पुरा गर्न खोज्छौ सधै जे छ चाहत मेरो।।

झर्न दिन्नौ परेलीमा एक थोपा आँशु
भन्छौ दिन्छु सबै खुशी हुन्न  घात मेरो।।

सातै जन्म हुनु है त तिमी साथ मेरो
अप्ठेरोमा परें  भने थाम  हात मेरो।।

Saturday, August 18, 2012

गजल ५६

ढुक्क हुन्छ मेरो मन तिमी साथ हुँदा
नत्र आँशु पुछिदिने कोही छैन रुँदा।।

सबै भन्दा लाग्छ बढी तिम्रो नै भरोसा
निको हुन्छ पीडा पनि तिमी आई छुँदा।।

तिमी भए रमाउँछु जहाँ गए पनि
हराउँछ  सबै दु:ख त्यो मायाले धुँदा।।

मायाले नै अडेकोछ यो जगत सारा
रुन्छन् कति हित मिल्ने साथी नपाउँदा।।

जन्म हुन्छ एक्लै अनि मर्नु पर्छ एक्लै
तर सबै बिर्सन्छु म तिमी छेउ आउँदा।।

Tuesday, July 31, 2012

गजल ५५

चलिरहे पाइला यी  जति पीडा भए पनि
सकिएन लक्ष भेट्न पानी जस्तै बहे पनि ।।

जिन्दगीका तिता मिठा कथाहरू कति कति
रित्तिएन  अरुसंग जतिसुकै कहे पनि।।

निको हुन्न भित्री घाऊ मलहम पट्टी बाँधी
रोकिएन अश्रु धारा सयौं चोट सहे पनि।।

छैन कुनै गुनासो र भन्नु पर्ने अरु कुरा
यस्तै चल्छ जिन्दगी यो भित्र तुष रहे पनि।।

जस्तो गरें जे जे गरें सकेसम्म राम्रै गरें
चिन्ता छैन अब भने प्राण उँडी गए पनि।।

Tuesday, July 3, 2012

गजल ५४

कस्तो होला यो देशमा शान्ति आ'को दिन
देख्न मन् छ बिजयको गीत गा'को दिन।।

भाग बण्डा तेरो मेरो तुच्छ कुरा त्यागी
दाजु भाइ दिदी बैनी भेला भा'को दिन।।

कोल्टे फेर्थ्यो यो देशले आउँथ्यो की कान्ती
युवा सबै एक जुट हुन पा'को दिन।।

युध्द गर्नु घात रैछ भयो धेरै खती
यही कुरा बुझी सब् ले कसम खा'को दिन।।

स्वर्ग जस्तै हुन्थ्यो होला हिमाल त्यो हाँस्थ्यो
नेपालीले चाहे जस्तै शान्ति छा'को दिन।।

Thursday, June 14, 2012

गजल ५३

कति  सम्म सहनु र हुन पनि  अति भयो
धेरै जसो नेतासित  बिग्रिएको मति भयो।।

बनेन खै संबिधान चार बर्ष कुर्दा पनि
झगडामै बिते दिन न त सहमति भयो।।

ठप्प भयो देश  हेर जताततै बन्द मात्र
दाजु भाइ लड्दा खेरी आज यस्तो  गति भयो।।

यति सानो देशलाई टुक्रै टुक्रा पारौं भन्दै
सद्‍‍‍‍‍भाव नै बिथोलेर  हुनसम्म खति भयो।।

जति संझ्यो उति डाहा अझ बढी हुने रैछ
आगो माथी बसे जस्तै  मन भतभति भयो।।

Tuesday, May 22, 2012

गजल ५२

अखण्ड यो राज्यलाई टुक्रा टुक्रा पार्न हुन्न
हामी सबै यौटै सन्तान भात पानी बार्न हुन्न।।

आपसको खिचातानी हितकारी हुँदैहुन्न
शत्रु सामु नेपालीले कैल्यै बाजी हार्ने हुन्न।।

नेपालीको पहिचान  थरी थरी भाषा भेष
झ्याङ्गीएको सद्‍भाव यो उखेलेर मार्न हुन्न।।

पौरखीले पौरख गरे बजाउँ ताली सबै मिली
शिखरमा चढ्न खोज्दा खुट्टा तानी झार्न हुन्न।।

हातेमालो बल हो हाम्रो मिली दु:ख टार्नु पर्छ
भेदभाव गर्ने रोग  हामी बीच सार्न हुन्न।।

Friday, May 11, 2012

गजल ५१

देशमा आएको अस्थिरताले मन साह्रै कुँडियो। यो तेरो र मेरो कहिले सम्म हो, अझै टुङ्गो लाग्ला जस्तो छैन। लामो विश्राम पछी  यो मनको बह यहँहरु समक्ष प्रस्तुत गरें।  

नपारौं न टुक्रा टुक्रा यति राम्रो फूलबारी
बसौं सबै मिलिजुली कोही वारी कोही पारी।।

साझा हाम्रो यो देश हो हामी सबै नेपाली हौं
बसेकै हो पुर्खौं देखी आपसमा माया गरी।।

मजबुत पारौ अझै भाइचारा यो संबन्ध
छर्नु हुन्न झगडाको बिऊ अब घरी घरी।।

'भाइ फुटे गवार लुटे' आफैलाई घाटा होला
कैले पनि मिलिदैन  चाहा राखे थरीथरी।।

टुक्रै टुक्रा थियो पैले बाइसे र चौबिसे यो
बनाएथे पुर्खाले नै यौटै राज्य मरी मरी।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...