Thursday, March 24, 2011

गजल १९

घरी घरी उर्लिरने छाल जस्तो रैछ माया
घुमी फिरी त्यही पुग्ने ताल जस्तो रैछ माया।।

ह्रदयमा बसेपछी बिर्सिहाल्न गाह्रो हुने
जुवाडेको जुवा खेल्ने खाल जस्तो रैछ माया।।

मन मिली मिठो साथ दिन सके सधैभरी
ओत दिने बर्षादको पाल जस्तो रैछ माया।।

जति फोयो उति गाँठो फुकाउन धेरै गाह्रो
माकुरीको अल्झिएको जाल जस्तो रैछ माया।।

जाली माया देखाएर आकाशको तारा झार्ने
झूठो बाचा गर्नेलाई काल जस्तो रैछ माया।।

Monday, March 21, 2011

गजल १८

इतिहासको पाना भित्र दसी हेर कस्तो हुन्छ
वीर शहीद नाम लेख्ने मसी हेर कस्तो हुन्छ।

जीवन दान गरी लडे बिर्सी दिए ऐले सबै
राजनीतिको फन्दा भित्र फँसी हेर कस्तो हुन्छ।

जालसाजी छ जता ततै काम गर्ने मरी राछ
अत्याचारको पीडा भित्र पसी हेर कस्तो हुन्छ।

आन्दोलनको मर्म बुझी सबै एक भए पछी
रातो सिंदुर बिजयको घसी हेर कस्तो हुन्छ।

नेपाललाई माया गर्ने सबै मन एक भई
बाहुपासको डोरी जोडी कसी हेर कस्तो हुन्छ।

जन्मदिनको शुभकामना

Dedicated to my lovely son, Aagat Awasthi (on his 23rd Birthday) and to all his age-group-peers, whose birthday is on the 21st March.

सधै तिमी हिडिराख प्रगतिको बाटो
नबिर्सेर कहिले पनि यो देशको माटो
माटो भए आफु हुन्छु भन्ने कुरा जान
आफ्नो धर्ती स्वर्ग भन्दा राम्रो हुन्छ मान।
फल फूल यही धर्तीमा गर्छु यही कामना
जन्मदिनको तिमीलाई धेरै धेरै शुभकामना!!!

ज्ञानी बनी गर्‍यौ भने सधै असल काम
त्यही कामले राख्छ तिम्रो, देश र कूलको नाम
ज्ञानको ज्योति बलोस् सधैं तिमी हिड्ने बाटोमा
सधैभरी रमाउ तिमी यै धर्तीको माटोमा।
निरोगी भै बाँच तिमी गर्छु यही कामना
जन्मदिनको तिमीलाई धेरै धेरै शुभकामना!!!

खराब संगत,रक्सी, चुरोट, जुवा अनि तास
कुलत हो यो जीवनलाई गर्छ विनास
त्यस्तो तिर कहिल्यै पनि नलगाई मन
देशको शीर उचा राख्ने असल मान्छे बन।
खुशी छाओस् जीवनमा गर्छु यही कामना
जन्मदिनको तिमीलाई धेरे धेरे शुभकामना!!!

जीवनमा कहिले पनि नहोस् तिम्रो हार
थाम्न सक जति पनि यो धर्तीको भार
सन्तती हुन ठुलो आड बाबु आमालाई
गर्ब गर्छौ तिमी जस्तो असल पुत्र पाई।
विश्वलाई जित तिमी गर्छु यही कामना
जन्मदिनको तिमीलाई धेरे धेरे शुभकामना!!!

Thursday, March 17, 2011

गजल १७

आऊ सबै खेलौं अब एकै ठाउँमा होली
पूर्व मेची महाकाली सबको माया घोली ।।

यो देश हो हामी सबको फूलबारी साझा
टुक्र्याउन हुन्न यसलाइ जोडौं दिल खोली।।

वैरभाव गरी यहाँ के पो लानु छ र?
छोडी सबै जानु पर्छ आज हो कि भोली।।

जानु पर्छ रित्तै अरू लाने चिज छैन
जान्छ भने हाम्रो साथ त्यही मिठो बोली।।

उही देश उही माटो धारा पानी साझा
बेग्ला बेग्लै गुठ हैन बनौं एउटै टोली।।

शान्ति,प्रेम,सदभावको मिसाएर रंग
आपसमा मिली खेलौ रंङ्गिचङ्गी लोली ।।

Tuesday, March 8, 2011

शुभकामना!!!

"पानी बनेर बग्यौं धेरै, आगो बनेर उठौं अब
नारीका हितको लागि कम्मर कसेर जुटौं अब।"

संपूर्ण साथीहरूलाई अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना!!!

गजल १६

इतिहासमा लेखिएको गाथाको जीत हो नारी
सदभाव बनाई राख्ने सबैको हित हो नारी।।

धर्तीलाई भिजाएर सिर्जनामा रमाइदिने
सृष्टीलाई जोगाई राख्ने एउटा रीत हो नारी।।

हाँसो खुशी र मायाले बनेको सुमधुर धून
संगीतले भरिएको तरङ्गीत गीत हो नारी।।

गाँसेर प्रेमरूपी माला सजाएर सबै तिर
एउटै शूत्रमा बाँधने सबैको मीत हो नारी।।

निभाएर मनका ज्वाला, प्रेमको सागर बनी
प्रचण्ड गर्मीका दिन छहारीको शीत हो नारी।।

बाँडेर मनको खुशी, प्रेमको भाव जगाएर
सबैको मनमा छाउने लजालु प्रीत हो नारी।।

Thursday, March 3, 2011

गजल १५

राख तिम्रो आँखा भित्र नानी बनी बस्छु
तिम्रो तिर्खा मेटाउने पानी बनी बस्छु।।

कुलतमा तिमीलाई पर्न दिने छैन
तिम्रा सबै राम्रा राम्रा बानी बनी बस्छु।।

जीवनको अन्त्यसम्म तिमीलाई दिन
नरित्तिने मायाको म खानी बनी बस्छु।।

अरू केही दिने कुरा छैन मेरो साथ
तिम्रीलाई माया दिई दानी बनी बस्छु।।

कहिले पनि तिमीसंग टाढा हुने छैन
अब सधै तिम्रै मनकी रानी बनी बस्छु।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...