Monday, December 10, 2012

गजल ६१

मेरो छेउ आए पछी फर्किएर गयौ
आऊ बस भन्दा भन्दै तर्किएर गयौ।।

के मा चित्त बुझेन र बहकियौ तिमी
राम्रै कुरा गर्दा पनि झर्किएर गयेौ।।

तिम्रो इच्छा मेरो साथ छोड्नु पर्ने भए
त्यो पनि लौ भन्दै थिएँ जर्किएर गयौ।।

के भनौं म तिमीलाई न बुझ्ने त छैनौ
शीशा जस्तै किन आफै चर्किएर गयो।।

उमङ्गले यो जीवन रंगाउँदै थिएँ
ब्यर्थै दिल भित्र बिष छर्किएर गयौ।।

Thursday, November 29, 2012

गजल ६०

भन्दिन म तिमीलाई माया गर मलाई
त्यो पनि म भन्दिन भो देउ भर मलाइ।।

एक्लै आएँ एक्लै जान्छु सक्छु एक्लै जिउन
तिम्रो साथ नभएनि छैन डर मलाई।।

शान्ति भए रमाउँछु झुपडीमै बसेनि
चाहिंदैन आलिसान ठूलो घर मलाई।।

दिल भित्र राखेकै हो निस्किएर गयौ त
तिमीसंगै बस्न अब छैन कर मलाई।।

आफ्नै मान्छे संझे मैले तर रैछौ पराई
अरुलाई वर राखी सार्‍यौ पर मलाई।।

Thursday, November 15, 2012

दाजुको संझना: कविता

मेरा श्रध्देय दाजु स्व. श्री हिरेन्द्र राज पन्तमा समर्पित:

बिर्सिन्न कैले त्यो साथ तिम्रो याद छ पलपलको
देख्दिन कतै कहाँ छौ कुन्नी आउँछ झझ‍ल्को।।

हे मेरा दाजु आउँदैनौ भेटन किन हो मलाई
हेरेर बाटो म कति बसुँ  यो मन जलाई।।

ढकमक फूल्यो सयपत्री संगै गुर्दौली ंमखमली
देखेर फूल  संझन्छु तिम्रो मुहार झल्झली।।

रहेनौ साथ यस्तै हो भनी यो मन  बुझाएँ
हेरेर फोटो यो श्रद्धा सुमन तिमीलाई चढाएँ।।

Monday, October 15, 2012

गजल ५९: दशैको बेला

२०६९ सालको विजया दशमीको सुखद उपलक्षमा संपूर्ण साहित्यक मनहरुलाई हार्दिक मंगलमय शुभकामना सहित यो गजल:

प्रसन्न रहोस् सबैको मन दशैको बेला यो
निरोगी बनोस् सबैको तन दशैको बेला यो।।

हटेर जाओस मनको मैलो प्रेमको भावले
मिलेर बसुन नेपाली जन दशैको बेला यो।।

संकट हटोस् यो देश बाट चाहना यही हो
नभए शान्ति के होला भन दशैको बेला यो।।

जमरा टिका आशिष ठूलो बडाले दिएको
नदुखाउ मन चाहिन्न धन दशैंको बेला यो।।

थाप्नु है आशिष बाँडेर खुशी आफन्त जुटेर
नगर  दंगा सहनशील बन दशैको बेला यो।।

Sunday, September 9, 2012

गजल ५८

तिम्रो जीत हुन्छ भने हारे पनि खुशी हुन्छु
आँखाबाट जति आँशु झारे पनि खुशी हुन्छु।।

जिन्दगीको गोरेटोमा धेरै छायाँ भेटें मैले
अब भने जति घाम पारे पनि खुशी हुन्छु।।

ती अप्ठेरा मोडहरु पार गर्दा साथ दियौ
भन्दिन भो, सबै दु:ख सारे पनि खुशी हुन्छु।।

नयनमा  तिमीलाई लुकाएर राखेकी छु
भित्र पस्ने सबै गौंडा बारे पनि खुशी हुन्छु।।

दिन त के सकें मैले गुन मात्र लायौ तिम्ले
तर अब बचनले मारे पनि खुशी हुन्छु।

Tuesday, September 4, 2012

गजल ५७

सातै जन्म हुनु है त तिमी साथ मेरो
अप्ठेरोमा परें  भने थाम्नु हात मेरो।।

जुनी जुनी बाँच्छ माया समर्पण भए
साँच्चै हो यो तिमी पनि मान बात मेरो।।

जे जे भन्छु त्यहि मान्छौ बिमती नै छैन
पुरा गर्न खोज्छौ सधै जे छ चाहत मेरो।।

झर्न दिन्नौ परेलीमा एक थोपा आँशु
भन्छौ दिन्छु सबै खुशी हुन्न  घात मेरो।।

सातै जन्म हुनु है त तिमी साथ मेरो
अप्ठेरोमा परें  भने थाम  हात मेरो।।

Saturday, August 18, 2012

गजल ५६

ढुक्क हुन्छ मेरो मन तिमी साथ हुँदा
नत्र आँशु पुछिदिने कोही छैन रुँदा।।

सबै भन्दा लाग्छ बढी तिम्रो नै भरोसा
निको हुन्छ पीडा पनि तिमी आई छुँदा।।

तिमी भए रमाउँछु जहाँ गए पनि
हराउँछ  सबै दु:ख त्यो मायाले धुँदा।।

मायाले नै अडेकोछ यो जगत सारा
रुन्छन् कति हित मिल्ने साथी नपाउँदा।।

जन्म हुन्छ एक्लै अनि मर्नु पर्छ एक्लै
तर सबै बिर्सन्छु म तिमी छेउ आउँदा।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...